खगेन्द्र संग्राैला
माता–पिताको प्रणय–क्रीडा र विरल संयोगको योगले भनूँ, जीवन पाएपछि मानिसका लागि सबैभन्दा प्यारो जीवन नै हो । कारण अनन्त समयको गतिक्रममा मिलिक्कै सकिएर जाने र दोहोर्याएर जिउन नमिल्ने एक बारको दुर्लभ जुनी हो यो ।
तर पछि फर्केर हेर्दा लाग्छ, जीवनमा सबैभन्दा प्यारो जे हो, त्यसैलाई मैले अंशअंश गरी नित्य मारेँछु । त्यो पनि एकाध वर्ष होइन, झण्डै ५५ वर्ष ! जगत्का बुद्धिमानहरू दुर्लभ जीवन बडो जतनले जोगाएर जिउँदा हुन् । म मूर्खले भने जीवन घोर लापर्बाहीसाथ जिएँछु ।
यो ज्ञानोदय मलाई तब भयो, जब गर्नलाई मसँग पछुतो सिबाय बाँकी केही थिएन ।
भनुँला भन्दाभन्दै संकोचले वा शरमले वा ग्लानिले गर्दा भन्न नसकेको यो आफैँमाथि आफ्नै मूर्खताको क्रुर कथा म आज भन्दै छु । भोलि–भोलि भनी भन्न थाँती राख्दा मरी जाने जुनीमा भोलि आफैँ मरेको दुई दिन हुन के बेर !
सडकपेटीमा १८/२० वर्षका पट्ठाले चुरोट तान्दै फस्फस धुवाँ उडाएको जब देख्छु, आफ्नै अतीतलाई गिज्याउँदै मेरो मनमा एउटा विशादमय अवषादको भावना जागृत हुन्छ- मूर्ख ! जानीजानी आफूलाई मन्द गतिमा मारिरहेको छस् !
त्यो अल्लारे, लहडी उमेरमा त्यसैगरी यत्रतत्र बडो शानले धुम्रपान गर्दै आफूलाई मन्द गतिमा मार्ने मूर्ख म पनि थिएँ ।
मेरो धूमपानको शैशवकालमा आमसमाजको स्वास्थ्य चेतना सुषुप्त अवस्थामा थियो । सुर्तीको विषाक्त धुवाँले कोमल र संवेदनशील फोक्सोलाई चिम्नी बनाएर त्यसमा प्राणघाती गाजल लगाउँछ भन्ने ज्ञान लोकमानसमा प्रचारित थिएन । त्यसैले मार्दै छु भन्ने नजानी म आफूलाई मार्दै थिएँ, तर सडकपेटीमा धूमपान गर्दै हिँड्ने यो लट्ठक, शायद मार्दै छु भन्ने जानीजानी आफूलाई मारिरहेको छ । मेरो मूर्खताबाट सिक्नु त कता हो कता, नयाँ पुस्ताको यो शठ म भूतपूर्वको शठलाई समेत माथ गरिरहेछ ।