‘बी’ डिभिजन लिगका बाँकी खेलहरु आजबाट सुरु हुँदै

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाईरसको महामारीको कारण स्थगित  दोस्रो श्रेणी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत बाँकी रहेको खेलहरु आजबाट सुरु हुँदैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले व्यावसायिक फुटबल लिग कोरोनाका कारण लिग गत वर्षको चैत ५ गतेबाट स्थगित भएको थियो।

पहिलो दिन आज लिगमा दुई खेल हुनेछ।

एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

मध्यपुर र नयाँ बस्तिबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ। दोस्रो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच खेल हुनेछ।

पुल्चोक र खुमलटारबीचको खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ।

नेपाली लिग फुटबलको दोस्रो श्रेणीमा रहेका १२ क्लबहरु ब्वाइज युनियन क्लब, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयावस्ती युवा क्लब, झम्सिखेल युथ क्लब, रानीपोखरी कर्नर टिम (आरसिटी), सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब, बाँसबारी क्लब र श्री कुमारी क्लब हुन्।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जस्तै एन्फाले दोस्रो डिभिजनमा पनि पुछारको एक टिमलाईमात्र रेलिगेसनमा पार्ने प्रावधान राखेको छ।

‘बी’ डिभिजनको च्याम्पियन हुने टोलीले नगद १५ लाख पुरस्कारसहित शीर्ष डिभिजनमा बढुवा हुनेछ। यसैगरी दोस्रो हुने टिमले १० लाख, तेस्रो हुनेले ८ लाख र चौथो हुनेले ५ लाख रुपैयाँ पाउनेछन्।

प्रत्येक टिमले तयारी खर्चस्वरुप १० लाख तथा प्रत्येक खेल खेलेवापत २५ हजार रुपैयाँका दरले पाउने एन्फाले जनाएको छ। त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपर, रक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले पुरस्कारस्वरुप जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने एन्फाले बताएको छ।

प्रकाशित मिति: : 2021-02-23 07:53:00

प्रतिकृया दिनुहोस्