इटहरीमा तीस करोडमा वाटर पार्क

Symbolic photo

पूर्वक्षेत्रको केन्द्र मानिएको सुनसरीको इटहरी नगरपालिकाभित्र तरहरास्थित ‘इपि ल्याण्ड एण्ड वाटर पार्क’ को निर्माण सम्पन्न भएको छ। 

पूर्वप्रहरी अधिकृत प्रहरी अतिरिक्त महानरीक्षक (एआइजी) कृष्ण बस्नेत तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) ज्ञानविक्रम शाह, इटहरी उद्योग बाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल र काठमाण्डौंको वुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानीमा पार्क निर्माण गरिएको छ।

कुल रु ३० करोडमा छ विघा क्षेत्रफलमा निर्माण गरिएको सो पार्कमा पाँच हजार मानिस अट्ने क्षमता छ। अघिल्लो चैत महिनामै सञ्चालनमा आउने भनिएको सो पार्क कोभिड–१९ का कारण निर्माणमा ढिलाइ भएको थियो।

संसारका सबै ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन्। विशेषगरी विदेशका ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन्। ती पार्क कहीँ सरकारले बनाएको हुन्छ त कहीँ निजी क्षेत्रको लगानीमा। नेपालमा मुख्य शहरमा कमै मात्र मनोरञ्जन पार्क छन्। जसले गर्दा परिवारसँग रमाइलो गर्न, घुम्न उचित ठाउँको अभावलाई यो पार्कले पूरा गर्ने पार्क सञ्चालकले विश्वास लिएका छन्।

पार्क सञ्चालनले गर्दा इटहरीमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि रमाउने ठाउँ मिलेको छ। यहाँबाट बालबालिका, तन्नेरीदेखि पारिवारिक मज्जा लिन पाउने भएका छन्। पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड आठ वटा राखिएका छन्।

एक स्लाइडमा एक पटकमा बढीमा आठ जनाले खेल्न सक्नेछन्। दिनभरिमा पाँच हजार मानिसले यसमा मनोरञ्जन लिन सक्छन् । पार्कमा एकै पटक ६०० मानिस अटाउने एक वेभ पुल राखिएको छ। 

यस पुलमा बसेपछि समुद्रको छालमा बसेकोजस्तो आनन्द आउँने पार्क सञ्चालक समितिका अध्यक्ष भीमबहादुर पौडेलले जानकारी दिए। जोरासिक यहाँको अर्को सुन्दर विशेषता हो। यहाँ डुङ्गा चढेर डाइनोसरलगायतका लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्न सकिने अध्यक्ष पौडेलले बताए।

पार्कमा जिप लाइन टावर बनाइएको छ। यसमा एक टावरदेखि अर्को टावरसम्म डोरीमा चिप्लिएर जाने खेल खेल्न सकिन्छ । साथै, चट्टानमा चढ्ने स्थान पनि निर्माण गरिएको छ।

पार्कमा पहिलो स्नोपार्क केही केही समयपछि सञ्चालनमा आउने जानकारी दिँदै अध्यक्ष पौडेलले भन्नुभयो, “पार्कभित्र रेष्टुरेन्ट, बार्बे क्यु हुनेछ र अर्को लञ्च वा डिनरका लागि फाइन डाइनिङ राखिएको छ ।”उहाँले भन्नुभयो, “फास्ट फुडका लागि अर्को रेस्टुरेन्ट बनाइएको छ । यसबाहेक इन्डियन फुडकोर्ट र आइसक्रिम पार्लर पनि छ् ।” प्रदेश–१ को गौरव बोक्ने यो पार्कमा पहिलो चरणमा ६० जनाले रोजगार पाएका छन् 

रु एक अर्व ९५ करोडको बजेट

इटहरी उपमहानगरपालिकाको आठौँ नगरसभा आज शुरु भएको छ । सो अवसरमा नगरप्रमुख द्वारिकलाल चौधरीले कोभिड–१९का कारण पूरक बजेट ल्याउन बाध्य हुनुपरेको बताए। 

उनले सातौं नगरसभाले स्वीकृत गरेको बजेट नीति तथा कार्यक्रमलाई कार्यावन्यन गर्ने क्रममा कोभिड–१९ का कारण राजश्वमा परेको प्रभावले स्वीकृत योजना तथा कार्यक्रममा प्रभाव परेको बताए। उपप्रमुख लक्ष्मी गौतमले रु एक अर्व ९५ करोड ४० लाखको संशोधित पूरक आय–ब्ययको अनुमान प्रस्तुत गरे। 

उनले विनियोजन ऐन, आर्थिक ऐन संशोधन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्र्ने, इटहरी स्वास्थ्य ऐनका सम्बन्धमा वनेको विधेयक, इटहरी भूउपयोग तथा जग्गा व्यवस्थापन गर्न बनेको विधेयक र टोल विकास संस्था सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७७ पेश गरे। चालु नगरसभाको अर्को बैठक फागुन २५ गते बस्ने छ। रासस 

प्रकाशित मिति: : 2021-02-26 20:43:00

प्रतिकृया दिनुहोस्