कुशलका गीतमा मौलिकताको चर्चा [भिडियाे]

कमल प्रभात

काठमाडौँ

अर्घाखाँचीबाट काठमाडौं आएर दोहोरी साँझमा काम गर्दै गर्दा कुशल बेलवासेलाई दोहोरीका अनुभुती समेटेर गीत बनाउने रहर लाग्यो।

दोहोरी साँझमा रातीसम्म गीत गाएर डेरामा पुग्दा उनी भित्र गीतका शब्दहरु खेल्न थाले। मुलतः आफै लेखेपनिः

नाच्छौ तिमी लागेएर घलेकी 
देख्छु तिम्लाई जुन जस्तै बलेकी 
रातो घलेकीकमा 
रोधी घरमा कुम जोडी नाचौंला 
आउँ है बेलुकीमा 

कुशलले राता–रात तयार परेको गीतको शब्द दोहोरीमा सुनाउँदा सबैले प्रशंसा गरे। त्यसको केही दिनमै आफ्नो र जमुना सनमको स्वरमा गीत रेकर्ड गरेर बजारमा ल्याए।

एक रातमै लेखेको गीतले उनलाई राम्रै चर्चा दिलायो। उनको गीत रेडियो र टेलिभिजनमा अत्याधिक बज्न थाल्यो। सबैले मन पराए। यहाँ सम्मकि दोहोरी साँझहरुमा समेत धेरैको पहिलो रोजाइ बन्यो। दर्शकको माग अनुसार कुशल आफै दोहोरी साँझमा धेरै पटक गाएर सुनाए। गीतको चर्चासँगै कुशलको पनि चर्चा चुलियो। त्यसयता उनी अचेल गीत संगीतमै व्यस्त छन्।

गीत संगीतमै उनले करिब डेढ दशक भन्दा बढि बिताइसके। कुशल भन्छन् ‘गीत संगीतमा लागेर केही दिन भाइरल हुने र केही महिनामै हराउनु भन्दा निरन्तरता आवश्यकता हुन्छ।’ लामो समयदेखि संगीतमा यात्रा गरिरहेका कुशलका ‘हातैको पौजाले’ र ‘सनिसार’ गीत अहिले चर्चामा छन्। 

बाल्य अवस्थामै उनी संगीतप्रति निकै लगाब राख्थे। आफु बाल्यकालमा धेरै टाढासम्म पुगेर संगीतिक कार्यक्रममा सहभागी हुने गरेको कुशलको अनुभव छ। संगीतमा लागेर धेरै कठिनाइ आउँदापनि अन्य पेशामा लाग्ने नसोचेका कुशलले अहिलेसम्म सफलताको स्वाद चाखिसकेका छन्।

‘गीत गाएर म आफु सन्तुष्ट छु। धेरै दर्शकको माया पाएको छु। दर्शकको माया मेरो सफलता हो’, उनी भन्छन्।

कुशलको मुख्य विशेषता भनेको समाजका वास्तविक कुरालाई गीतको रुपमा प्रस्तुत गर्नु हो। उनका गीतमा समाजका यर्थाथ कथा र मौलिक स्वाद पाइन्छ। उदाहरणको लागि उनका पछिल्ला दुई गीतलाई नै लिन सकिन्छ। ती गीतमा समुदायका ‘ठेट’ शब्दको प्रयोग गरेका छन्। उनको प्रयोगलाई धेरैले रुचाएका पनि छन्।

कुशल भन्छन्,‘लोकगीतमा लोकको भाषा र कथा चाहिने रहेछ। जुन मैले पछिल्लो पटक समेट्ने कोसिस गरेको छु।’ लोक गीत बनाउनको लागि समाजको अध्ययन गर्नुपर्ने उनी बताउँछन्, ‘हामीले लोक गीतलाई आधुनिकतातर्फ लैजादा मैलिकता मर्छ। मेरो अब प्रयास भनेको ५०–६० वर्ष पुराना कथा समेट्ने हो।’

उनै गायक कुशल बेलवासेसँग बिएल संवाददाता कमल प्रभात विकले गरेको विस्तृत कुराकानी भिडियोमा हेर्न सकिन्छ: 
 

प्रकाशित मिति: : 2021-10-07 15:18:00

प्रतिकृया दिनुहोस्