नारायणकाजीको आक्रोश- गर्न सक्ने काम पनि नगरी जनता ‘मारेर’ कसरी बस्न सकेको सरकार?

फाइल तस्वीर
फाइल तस्वीर

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोरोनो उपचार तथा रोकथाममा सरकारले गैरजिम्‍मेवार र नालायकीपन देखाएको भन्‍दै सबैले आ–आफ्नो ठाँउबाट पहल गर्नुपर्ने बताएका छन्।

नेता श्रेष्ठले बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै अक्सिजन नपाएर कोरोना संक्रमित मरे पनि सरकार टुलुटुलु हेरेर बसिरहेको आरोप लगाएका छन्।

उनले भनेका छन्, 'यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो।आइसियू र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन्। उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नु परेको छ।’

‘राजधानीका कतिपय ठूला अस्पतालहरुले भर्ना भइ उपचाररत कोभिड बिरामी लाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पतालबाट बाहिर पठाइरहेका छन् भने कतिपय अस्पतालले अव कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेका छन्’,नेता श्रेष्ठ भनेका छन्, ‘बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामीहरुको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारीबाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा. सन्तोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ।’

उनले आक्रोशित हुँदै प्रश्‍न गरेका छन्, ‘यसरी गर्न सक्ने काम पनि नगरी जनता ‘मारेर’ बस्न कसरी सकेको छ सरकार?’

उनले अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मीहरुको कामको सम्मान र अनुसरण गर्दै जनता बचाउन आ-आफ्नो ठाँउबाट लाग्‍न सबैलाई आग्रह समेत गरेका छन्।

प्रकाशित मिति: : 2021-05-13 12:20:00

प्रतिकृया दिनुहोस्