रसुवाको स्वास्थ्य अवस्था अध्ययन

पछिल्लो प्रारम्भिक अध्ययनबाट रसुवाको स्वास्थ्य अवस्था सामान्य देखिएको छ।

कोभिड–१९ को सङ्क्रमणबारे जिल्ला प्रशासन कार्यालयले स्थानीय तहका पदाधिकारीमार्फत गरेको प्रारम्भिक अध्ययनबाट चार गाउँपालिकाअन्तर्गत २२ वडामा बसोबास गर्ने स्थानीय बासिन्दाको स्वास्थ्य अवस्था सामान्य देखिएको हो। 

पाँच गाउँपालिका एवं २७ वडा रहेको जिल्लामा करिब ४३ हजार जनसङ्ख्या रहेको बताइएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार गोसाइँकुण्ड, उत्तरगगया, आमाछोदिङ्मो र नौकुण्ड गाउँपालिकाभित्र बसोबास गर्ने बासिन्दामा कुनै जटिल वा कोभिडको लक्षणसँग मिल्दोजुल्दो रोग फेला नपरेको र कालिका गाउँपालिकामा भने वडावडामा बुझ्ने काम भइरहेको छ। 

रोग नियन्त्रणका लागि यही वैशाख २७ गते रातिबाट जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा पूर्णरूपमा पालना भइरहेको र गाउँपालिकाबाट उल्लेखनीय सहयोग भएको प्रजिअ ढकालले जानकारी दिए। यसरी कोरोना नियन्त्रणका लागि गोसाइँकुण्ड गाउँपालिकाले भने कार्ययोजनासहित मातहतका सम्पूर्ण कर्मचारी परिचालन गरेको छ। 

उक्त गाउँपालिकाले आफ्ना मातहतका स्वास्थ्यसम्बन्धी कर्मचारीलाई उपचार सेवा एवं प्रशासनिक कर्मचारीलाई भने सूचना सङ्कलन तथा अन्य आवश्यक व्यवस्थापन कार्यमा परिचालन गरेको छ। 

कोभिड नियन्त्रण व्यवस्था समितिअन्तर्गत तयार गरिएको जनशक्तिले परामर्श सेवा, स्वाब सङ्कलन, होमआइसोलेशन तथा उपचारको अनुगमन, गर्भवती, सुत्केरी, अशक्त बिरामीलाई अस्पताल लैजाने व्यवस्था, दीर्घरोगीको उपचार, विद्यालयको व्यवस्थापन सिकाइ, स्थानीय बासिन्दासँगको समन्वय र सहजीकरणजस्ता कार्यको व्यवस्थापन मिलाएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ। 

कोरोना पोजेटिभ देखिएका बिरामीलाई घरमै उपचार सेवा सहज पार्न चिकित्सकको परामर्शमा सो गाउँपालिकाले आफ्नो स्वास्थ्य शाखामार्फत आवश्यक पर्नासाथ मास्क तथा स्यानिटाइजर र आठ प्रकारका औषधिसहित निःशुल्क वितरणका लागि तयारी हालतमा राखिएको अध्यक्ष कैसाङनुर्पु तामाङले बताए। 

कोरोना सङ्क्रमण रोकथाम गर्न नियमित मास्कको प्रयोग, सामाजिक दूरी कायम, साबुनपानीले हातधुने, हिँडडुल बन्दजस्ता स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गराउन सचेतना कार्यलाई निरन्तरता दिइएको बताइएको छ। 

यसैगरी नौकुण्ड गाउँपालिकाले पनि कोरोना नियन्त्रणका लागि आफ्ना सबै जनशक्ति परिचालन गरिरहेको र स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा पूर्ण पालना हुँदै गएका कारण जिल्लामा सङ्क्रमितको सङ्ख्या क्रमशः घट्दै जाने आकलन गरिएको प्रजिअ ढकालले जानकारी दिए। 

जिल्लाभर लगाइएको निषेधाज्ञा पालना गर्दै कोरोनाबाट बच्ने र बचाउने कार्यमा सम्पूर्ण जिल्लावासी सचेत रहने कुरामा आफू आशावादी रहेको जनाउँदै जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जिल्ला प्रशासन कार्यालय एवं स्थानीय सरकारले गरेको व्यवस्थापन र स्वास्थ्यकर्मीले दिएको उपचार सेवा तथा परामर्श आम जिल्लावासीमाझ हितकारी बन्दै गएको बताए। 

पछिल्लो समय सङ्क्रमितको सङ्ख्या कूल १८१ र तीमध्ये १३ जना संस्थागत आइसोलेशन तथा अन्य होमआइसोलेशनमा उपचार गराइरहेका छन्। सबैको स्वास्थ्य अस्वस्था सामान्य रहेको जनस्वास्थ्य अधिकृत मनिषा देवकोटाले जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2021-05-13 15:16:00

प्रतिकृया दिनुहोस्