सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर शून्य

बिएल संवाददाता

सुदूरपश्चिम
Symbolic photo
Symbolic photo

गत दुई महिनायता सुदूरपश्चिम प्रदेशमा आज पहिलो पटक कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ।  

पछिल्लो २४ घण्टामा यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ।

यो अवधिमा एक हजार ५२१ नमूना परीक्षण गरिएकोमा २९३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। योसँगै यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४१ हजार ८६९ पुगेको छ। पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ४३६ जना रहेको निर्देशनालयले जनाएको छ। 

निर्देशनालयलका अनुसार प्रदेशका विभिन्न अस्पतालमा आज भेन्टिलेटरमा चार, सघन उपचार कक्षमा आठ र कोभिड वार्डमा १४ जना बिरामी भर्ना भएका छन्।

दोस्रो लहरको कारोना भाइरस सङ्क्रमण फैलिएयता यही जेठ ७ गते एकै दिन प्रदेशमा सबैभन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए। प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ सङ्क्रमितको मृत्यु भएको थियो। 

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको अवधि यही जेठ ३१ सम्म थपिएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-08 21:05:00

प्रतिकृया दिनुहोस्