बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा बृहत्तर बागवानी फार्म तथा नर्सरी विकास कार्यक्रम सञ्चालमा ल्याइने भएको छ।
अस्पताल र वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच सहकार्य गरेर नेपालकै नमूना फार्म निर्माण गर्न लागिएको हो।
अस्पताल स्थापना हुनुअघि सो क्षेत्रमा फार्म नै रहेको थियो। हाल अस्पतालले ओगटेको क्षेत्रबाहेक ५० विघाभन्दा बढीमा फलफूलका रूख भए पनि आवश्यक व्यवस्थापनको अभावमा व्यावसायिक बन्न सकेको छैन।
दुई संस्थाबीच गरिएको सम्झौतामा मन्त्रालयले बृहत्तर बागवानी फार्म तथा नर्सरी विकासका लागि कार्ययोजनाका आधारमा ससर्त अनुदान उपलब्ध गराउने छ।
यसैगरी नर्सरीबाट उत्पादित आँप, लिची, कटहर, एभोकाडो, सपोटालगायत बहुवर्षे फलफूलहरूको गुणस्तरीय बेर्ना वितरण एवं व्यवस्थापनका लागि मन्त्रालयले आफ्ना मातहतका कृषि ज्ञान केन्द्रहरूसँग आवश्यक समन्वय गर्नेछ।
अस्पतालले बागवानी फार्म तथा नर्सरी विकास योजना तयार गरी मन्त्रालयबाट प्राप्त अनुदानको परिचालन गर्ने छ। बागवानी फार्म तथा नर्सरीमा कर्मचारी परिचालन तथा फार्मको सुरक्षाको प्रबन्ध अस्पतालले मिलाउने सम्झौतामा उल्लेख छ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार अस्पताल र मन्त्रालयको समन्वयमा सञ्चालक समिति गठन गरिनेछ । सञ्चालक समितिको काम, कर्तव्य र अधिकार निर्धारण गरिनेछ।
सो समितिले फार्म तथा नर्सरी विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्ययोजना तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेछ। त्यहाँ वर्षिक तीन लाखभन्दा बढी बिरुवा उत्पादन गरी कृषकलाई सहुलियत दरमा उपलब्ध गराउने लक्ष्य राखिएको ढकालले जानकारी दिए।
त्यहाँबाट भएको आम्दानीको ७० प्रतिशत कार्यक्रम सुदृढीकरणका लागि खर्च गरिनेछ भने बाँकी ३० प्रतिशत क्यान्सरका बिरामीको उपचारमा सहयोग गरिनेछ।
पहिलो पाँच वर्षपछि मन्त्रालय र अस्पतालको आपसी समझदारीमा फार्मको व्यवस्थापन र सञ्चालन गरिनेछ। अस्पताल परिसरमा उत्पन्न हुने फोहोरमैला व्यवस्थापन गरिने दुई संस्थाको बीचमा भएको सम्झौतामा उल्लेख गरिएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार हाल वार्षिक रु तीन लाख मात्रै आम्दानी भइरहेको छ। व्यवस्थित गर्दैगर्दा आम्दानी बढ्ने, जग्गाको सदुपयोग हुने, भएका बिरुवाको संरक्षण हुने, अस्पताल परिसर हरियाली र सुन्दर हुने उनले बताए।
यहाँका फलफूलका रूख उच्च गुणस्तरका रहेकाले तिनीहरू कलमी गरेर उत्पादन हुने बिरुवा उच्चस्तरको हुने उनको भनाइ छ। अस्पतालको बगैँचा क्षेत्रमा अवैध रूपमा मानिसको प्रवेश पनि रोकिने गौतम बताउछन्।
उनले भने, 'भइरहेका फलफूलका रूखहरू हरेक वर्ष २०र२५ प्रतिशत मर्न थालेका छन्। तिनीहरूको ठाउँमा नयाँ बिरुवा रोपिनेछ।' अस्पतालले बागवानी व्यवस्थापनका लागि आउँदो वर्ष मन्त्रालयसँग रु पाँच करोड माग गरेको छ।
अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्मा यो नेपालकै नमूना बागवानी फार्म बन्ने बताउछन्। तत्कालीन अवस्थामा अस्पताल बन्दै गर्दा अस्पतालले ओगटेको भागबाहेकका क्षेत्रमा बागवानीको प्रवद्र्धन गर्दै जाने उल्लेख भएको बताउँदै भने, 'अस्पतालमा रहेको बागवानी विभागमा न्यून कर्मचारीले मात्रै काम गर्दै आएका छन्। यसले मात्रै धान्न सकेन।'
विसं २०४८ चैत १५ गते नेपाल र चीन सरकारबीच १०० श्ययाको सुविधासम्पन्न क्यान्सर अस्पताल स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् २०४९ साल साउन २७ गते भरतपुरस्थित यज्ञपुरी बागवानी फार्मको ७५ बिघा १० कट्ठा जमीन उपलब्ध गराइएको हो।
१५० शवको निःशुल्क दाहासंस्कार
भरतपुर महानगरपालिकाको अगुवाइमा विभिन्न सङ्घसंस्थाको सहयोगमा कोरोना सङ्क्रमणका कारण मृत्यु भएका १५० जनाको दाहासंस्कार गरिएको छ।
महानगरसँगै जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको कालीबहादुर गण, देवघाट क्षेत्र विकास समिति, लायन्स क्लब, नेपााल वन पैदावर व्यवसायी महासङ्घ चितवन लगायतको सहयोगमा निःशुल्क दाहसंस्कार गरिएको हो।
महानगरले निःशुल्क शव वाहन, दाउरा र एक्साभेटर उपलब्ध गराएको छ। नेपाली सेनाले अस्पतालबाट दाहसंस्कारस्थलसम्म शव लगेर व्यवस्थापनमा सहयोग गर्दै आएको छ। देवघाट क्षेत्र विकास समितिले दाहसंस्कारस्थल नजीक दाउरा ल्याएर एउटा शवका लागि रु ५०० छुट गरेको छ।
यसैगरी लायन्स क्लबले एउटा शववाहन निःशुल्क उपलब्ध गराएको छ। नेपाल वन पैदावर व्यवसायी महासङ्घले आवश्यक दाउरा उपलब्ध गराएको छ। महानगरको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बालकृष्ण थपलियाका अनुसार जेठ ६ गतेदेखि हालसम्म यहाँका अस्पतालमा मृत्यु १४६ जनाको शव जलाइएको र आठजनाको शव गाडिएको छ।
जलाइएकामध्ये चारजनाको परिवारले मृतकलाई भार लाग्ने भन्दै दाहसंस्कार खर्च आफैँ तिरेका छन्। उनका अनुसार कोरोनाका कारण मृत्यु भएको परिवारका लागि महानगरले दाउरा, शव बोक्नका लागि शववाहन र खाल्डो खन्नका लागि स्काभेटरको व्यवस्था गरेको हो।
कोरोना सङ्क्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा ठूलो रकम तिर्नु परेको गुनासो आएसँगै जेठ ५ गते महानगरप्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले सङ्क्रमितको शव व्यवस्थापनमा सहयोग गर्नका लागि महानगरलाई जिम्मा दिएको थियो।
यसअघि एउटा शवका लागि रु १९ हजारदेखि २८ हजारसम्म मृतकका परिवारले तिर्न बाध्य भएका थिए। हाल अन्त्येष्टि गर्ने मानिसको अभाव भएमा केही रकम दिएर सहयोग लिनुपर्ने भए पनि मृतकका आफन्त भएको अवस्थामा दाहसंस्कार निःशुल्क भएको छ।
महानगरले दाउरा किन्न रु तीन हजार दिने गरेको छ । सो अनुसार महानगरले शवको दाहासंस्कारका लागि रु चार लाख २६ हजार बराबरको दाउरा खरीद गरी मृतकको दाहासंस्कार गरेको हो। यहाँका अस्पतालमा उपचारका लागि आएका सङ्क्रमितहरूमध्ये आधाभन्दा बढी जिल्लाबाहिरका रहेका छन्।
विभिन्न अस्पतालमा अहिले ३१९ जनाको उपचार भइरहेको छ। जसमध्ये सघन उपचार कक्षमा १४३, एचएफएनसीमा ३०, एचडियुमा ४३ र आइसोलेशनमा १३५ जनाको उपचार भइरहेको छ। तीमध्ये चितवनका १४४ जना रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
कार्यालयका जनस्वास्थ्य अधिकृत पुष्पाञ्जली ढकालका अनुसार जिल्लामा कोरोना सङ्क्रमणका कारण २३० जनाको मृत्यु भइसकेको छ।
अहिले कोरोना सङ्क्रमणका कारण मृत्यु भएकाहरूको भरतपुर महानगरपालिका–१ बागेश्वरी नजीक नारायणी नदी किनारमा दाहासंस्कार गरिँदै आएको छ। रासस