आठराईको गाउँदेखि बालुवाटार भएर बालकोटसम्म ओली–यात्रा

कमल प्रभात

काठमाडौं

प्रधानमन्त्रीको कुर्सी गुमाएको एक दिनपछि सरकारी निवास, बालुवाटार छाडेर एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरको बालकोटस्थित निजी निवास फर्केका छन्। उनी घर फर्कंदा राष्ट्रिय युवा संघका नेता–कार्यकर्ताको र्यालीले उनीसँगै बालुवाटारदेखि बालकोटसम्म ‘स्कर्टिङ’ गरेको थियो।

बालुवाटारबाट निस्केर हिँडेका ओली अघि–अघि थिए। पछि–पछि गाडी–मोटरसाइकलको लामो र्याली पंक्तिबद्ध भएर हिँडेको थियो, जसको नेतृत्व भक्तपुरका एमाले सांसद् एवम् पूर्वमन्त्री महेश बस्नेतले गरेका थिए। युवा संघका नेता–कार्यकर्ताले ‘केपी ओली –जिन्दावाद’, ‘आइ लभ यू– केपी बा’ लगायत नारा लगाएका थिए।

बालुवाटारबाट नक्साल, रत्नपार्क, त्रिपरेश्वर, थापाथली, नयाँबानेश्वर, तीनकुने, कोटेश्वर हुँदै ओली बालकोट गएका थिए। सडक किनारमा उनलाई हेर्न सर्वसाधारणको पनि भीड लागेको थियो।

सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन्।

२०७४ फागुन ३ गते प्रतिनिधिसभाको दुईतिहाई मतसहित प्रधानमन्त्री चुनिएका थिए– ओली। ४१ महिनापछि उनकै पार्टी एमालेभित्रको माधवकुमार नेपाल समूहको समेत असहयोगमा सत्ताबाट बाहिरिएका हुन्। उनकै शब्दमा भन्दा ‘जनादेशले होइन, परमादेशले प्रधानमन्त्रीबाट हटेका’ हुन्।

प्रधानमन्त्रीको करिब साढे तीन वर्षे कार्यकालमा ओली केही महत्वपूर्ण काम गरे। राजनीतिक रुपमा हेर्दा उनले पृथकतावादी आन्दोलन चलाइरहेका सीके राउतलाई मूलधारको राजनीतिमा ल्याए। राज्यविरुद्ध सशस्त्र विद्रोहको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पनि शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिमा अवतरण गराए।

नेपालको लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रको मिचिएको भूभागलाई नेपालको नक्सामा समेट्ने निर्णय ओली सरकारको अर्को महत्वपूर्ण कार्य हो। उक्त नक्सालाई सर्वसम्मतिमा प्रतिनिधिसभाबाट पारित गराएर संविधानको अनुसूचीमा राख्ने कार्य पनि गरे। 

ओली सरकारले सबैभन्दा बढी विरोध आफ्नै पार्टीभित्रबाट व्यहोर्नुपर्याे। सरकार गठनको एक वर्ष नपुग्दै प्रतिनिधिसभाबाटै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको विरोध गरे, ‘देश डुब्न लाग्यो माझी दाइ, यसलाई डुब्नबाट बचाऊ’ भन्दै भाषण गरेर।

सरकारले दुई वर्ष पूरा गर्नेबित्तिकै ०७५ मंसीरमै वामदेव गौतमले ओलीविरुद्ध भन्दै स्थायी कमिटी बैठकमा फरकमत पेश गरे। त्यसको एक वर्ष नाघ्नेबित्तिकै सरकारको चरम आलोचना सुरु भयो। 

०७६ साल फागुन ३ मा ओली सरकारले दुई वर्ष पूरा गर्याे। संविधानतः सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन मिल्ने भयो। त्यसपछि वामदेव गौतमले आफू प्रधानमन्त्री हुनुपर्ने भन्दै ‘विवाद’ सुरु गरे। गौतमलाई तत्कालीन नेकपाका अर्का अध्यक्ष रहेका प्रचण्ड, झलनाथ खनाल, माधव नेपाललगायतले ओलीविरुद्ध उपयोग गरे।

प्रचण्ड, खनाल, नेपालसहितको गठबन्धन बनाएर ओलीविरुद्ध घेराबन्दी सुरु भयो। यो समूहको सरकार ढलाउने प्रयास असफल बनाउँदै आएका ओली ०७८ असार २८ गतेको सर्वोच्च अदालतको परमादेशका कारण सत्ताबाट बाहिरिन बाध्य भए। 

प्रधानमन्त्रीबाट बाहिरिएको एक दिनपछि ओलीले निजी निवास, बालकोट पुगेर आफ्नै पार्टीका नेता माधवकुमार नेपालको गद्दारीका कारण आफू जनादेशबाट नभई परमादेशबाट प्रधानमन्त्रीबाट बाहिरीनु परेको बताए।

००८ सालमा तेह्रथुमको आठराईमा जन्मिएका उनले सानैमा आमा गुमाएका थिए। उनी रामनाथ दाहाल (सुखानीका एक जना शहीद)को संगत र प्रेरणाबाट बाल्यकालमै राजनीतिमा लागेका थिए। 

०२८ सालको झापा–आन्दोलनपछि ०२९ सालमै जेल परेका उनले १४ वर्षलामो कठोर जेल सजाय भोगका नेता हुन् ओलीे। उनी ०४४ सालमा मात्र जेलबाट छुटेका थिए। त्यसपछि पुनः नेकपा (माले) को केन्द्रीय नेतृत्वमा आए।

उनी ०४७ साल जेठ १ गते घोषणा गरेको ‘प्रजातान्त्रिक राष्ट्रिय युवा संघ’ का संस्थापक अध्यक्ष हुन्। उनी त्यसबेला एमालेको पोलिटब्युरो सदस्य थिए। 

०४८ सालको आम चुनावमा झापा क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए। ०४९ साल माघ १४–१९ गते काठमाडौंमा सम्पन्न एमालेको पाँचौँ महाधिवेशनबाट पार्टीको स्थायी कमिटीमा चुनिएका थिए। ०५१ सालमा बनेको एमालेको मनमोहन अधिकारी प्रधानमन्त्री बनेको एमालेको नौ महिने अल्पमत सरकारका गृहमन्त्री थिए– केपी शर्मा ओली।

०६२/६३ को जनआन्दोलनको सफलतापछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा सो सरकारमा ओली उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री भएका थिए। ०७० सालमा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई हराएर ओली संसदीय दलको नेतामा चुनिए। त्यसको एक वर्षभित्रै उनी ०७१ साल साउनमा एमालेको अध्यक्ष निर्वाचित भएका थिए।

०७२ असोजमा संविधान जारी भएपछि ओली पहिलोपल्ट प्रधानमन्त्री चुनिएका थिए। जतिबेला नेपालमाथि भारतले नाकाबन्दी लगाएको थियो। भारतीय नाकाबन्दीलाई चुनौती दिएका ओली प्रधानमन्त्री पदमा नौ महिनामात्र टिके।

प्रधानमन्त्री पदबाट बिदा भएपछि उनको राजनीतिक उचाइ झन् चुलिएको थियो। ओलीकै राजनीतिक लोकप्रियताको बलमा एमालेले ०७४ मंसीरमा भएको आम चुनावमा एमाले सबैभन्दा ठूलो दलको हैसियत बनायो– प्रत्यक्षतर्फ ८४ सीट जितेर।

माओवादीसँग गठबन्धन बनाएर साझा घोषणपत्रमा चुनाव लडेको एमाले संसदीय दलका नेताको हैसियतमा ओली ०७४ साल फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। ०७५ साल जेठ ३ गते एमाले र माओवादीकेन्द्रबीच एकता गरी ‘नेपाल कम्युनिष्ट पार्टी’ को एक नम्बर वरियताको अध्यक्ष भएका थिए।

०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको आदेशले एमाले र माओवादीकेन्द्र अलग भएपछि ओली प्रतिनिधिसभाभित्र कमजोर भएका थिए। नेपालको इतिहारमा मनमोहन अधिकारीबाहेक सबै प्रधानमन्त्रीहरु पदबाट हटेपछि अलोकप्रिय हुन्थे, तर योभन्दा विपरीत ओली पहिलोपटक प्रधानमन्त्री पदबाट हटेपछि थप लोकप्रिय भएका थिए।

यसपटक भने संसद्मा रहेका धेरैजसो राजनीतिक दलहरु र एमालेकै एक खेमा उनीविरुद्ध लागेपछि सर्वोच्च अदालतको परमादेशका कारण उनी सत्ताच्युत भएका छन्। प्रधानमन्त्रीको हैसियतमा अन्तिम सम्बोधनमा उनले दाबी गरेका छन्, ‘जनादेश मसँग छ, परमादेशले हटेको हुँ। ढिलोमा डेढ वर्षपछि म पुनः सत्तामा फर्कने छु।’ उनको दाबी कति सही हुने हो, त्यो हेर्न भने केही समय कुर्नैपर्ने छ। 

प्रकाशित मिति: : 2021-07-14 19:45:00

प्रतिकृया दिनुहोस्