च्याम्पियन्स लिगको नजिता: पिएसजी रोकियो, सिटी, लिभरपुल, रियल म्याड्रिड र डर्टमण्डको विजयी सुरुवात

युईएफए युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो चरणको खेलमा बलियो पेरिस सेण्ड जर्मन (पिएसजी) बराबरीमा रोकिएको छ।

बुधबार राति भएको यस सिजनको पहिलो खेलमा फ्रान्स लिगा वान च्याम्पियन पिएसजी बेल्जियम क्लब ब्रगसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे तिनै अट्याकरलाई प्लेइङ सेटमा उतारेपनि पिएसजीले गोलको खडेरी तोड्न सकेन।

यद्यपि खेलमा अग्रता भ्रमणटोली पिएसजीलेनै बनायो। एम्बाप्पेले उपलब्ध गराएको बललाई आन्द्रे हेरेराले गोल गरे। हेरेराले खेलको १५औँ मिनेटमा गोल गरेका थिए।

घरेलु टोली ब्रगका हान्स भनाकनले खेलको २७औँ मिनेटमा गोल गर्दै बराबरीमा पुर्‍याएका थिए।

मेस्सी, नेयमार र एम्बाप्पेको साथ पाएको पिएसजीले बाँकी समय खेलमा दबाब बनाए पनि पहिलो खेलमै अंक बाँड्न बाध्य भयो।

समूह 'ए'अन्तर्गतको अर्को खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ।

इतिहाद मैदानमा गोल बर्षा हुँदा सिटीले विजयी सुरुवात गर्याे। जर्मन क्लब लाइपजिग १० खेलाडीमा सिमित रहँदा यस खेलमा ९ गोल भएका थिए।

सिटीको विजयी सुरुवातमा नाथन एके, रियाद महरेज, ज्याक ग्रयलिस, जोआओ कनसेलो र गाब्रियल जेसुसले १/१ गोल गरे भने लापजिगका नर्दी मुकियलेले १ आत्माघाति गोल गरे।

त्यस्तै, भ्रमणकारी टोली लाइपजिगका क्रिष्टोफर नकुन्कुले ४२, ५१, ६३औँ मिनेटमा ह्याट्रिक पूरा गरे पनि टोलीको हार टार्न सकेनन्। यसअघि लाइपजिगका एन्जेलिनोले ७९औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।

खेलसँगै समूह 'ए'मा ३ अंकसहित सिटी शीर्ष स्थानमा छ। बराबर खेलेका क्लब ब्रग र पिएसजीको सामान १ अंक रहँदा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। पराजित आरबी लाइपजिग भने पुछारमा रहेको छ।

यस्तै समूह 'बी'अन्तर्गतको खेलमा लिभरपुलले एसि मिलानलाई रोमाञ्चक खेलमा ३-२ गोल अन्तरले पराजित गरेको छ। लिभरपुर घरेलु मैदान एनफिल्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन मोहम्मद सलाह, जोर्डन हेन्डरसन १-१ गोल गर्दा मिलानका फिकायो तोमोरीले आत्माघाती गोल गरेका थिए।

भ्रमणकारी टोली एसि मिलानको लागि एन्टे रोबिक र ब्राहिम डियाजले १/१ गोल गरे। खेलमा मिलानका जाल्टान इभ्राहिमोभिक उपलब्ध थिएनन्।

यसअघि १४औँ मिनेटमा लिभपुरका सलाहको पेनाल्टी प्रहार मिलान गोलकिपर माइक माइग्नानले बचाउ गरेका थिए। समूह 'बी'अन्तर्गतकै अर्काे खेलमा एथ्लेटिको म्याड्रिड र एफसी पोर्टाेबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ। म्याड्रिडमा भएको खेलमा एफसी पोर्टो अन्तिम समयमा १० खेलाडीमा सिमित भएको थियो।

खेलसँगै समूह 'बी'बाट लिभरपुल तीन अंकसहित शीर्ष स्थानमा छ। यस्तै बराबरी खेलेका एथ्लेटिको र पोर्टाे क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा एसि मिलान अन्तिम स्थानमा छ।

यस्तै, समूह 'सी'को खेलमा स्पेनिस रियल म्याड्रिडले इटाली क्लब इन्टर मिलानविरुद्ध १/० को कठिन जित हासिल गरेको छ। भ्रमणकारी टोली रियलले रोड्रिगोको निर्णायक गोलमा ८९औँ मिनेटमा १/० को अग्रता बनाएको थियो। घरेलु मैदान सान सिरोमा इन्टर फर्कने धेरै मौका बनाए पनि सफल हुन सकेन।

समूह 'सी'कै अर्काे खेलमा माल्दोभा च्याम्पियन एफसी सेरिफ तिरास्पोलले विजयी सुरुवात गरेको छ। क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिग खेलेको सेरिफले युक्रेन च्याम्पियन सख्तर डोनेटस्कलाई २/० गोल अन्तरले पराजित गर्‍याे। घरेलु मैदान सेरिफ मैदानमा एडामा ट्राओरे र मोमो यान्सुनले १/१ गोल गरेका थिए। 

जितसँगै समूह 'सी'बाट सेरिफ र रियल म्याड्रिड क्रमशः ३/३ अंकसहित  पहिलो र दोस्रो स्थानमा छन्। पराजित इन्टर र सख्तर भने क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

यस्तै, समूह 'सी'अन्तर्गतको खेलमा अजाक्सले विजयी सुरुवात गरेको छ। गयराति भएको खेलमा भ्रमणटोली अजाक्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई ५/१ गोल अन्तरले पराजित गर्‍याे। नेदरल्याण्डको अजाक्सलाई जिताउन सेबाष्टियन हलरले ह्याट्रिक पूरा गरे। सेबाष्टियनले खेलको २, ९, ५१ र ६३औँ मिनेटमा गरी ४ गोल गरे। यस्तै स्टेफन बर्घुइसले १ गाेल गरे। स्पोर्टिङका लागि पौलिन्होले खेलको ३३औँ मिनेटमा १ सान्त्वना गोल गरे।

समूह 'सी'कै अर्काे खेलमा बोरुसिया डर्टमण्डले विजयी सुरुवात गरेको छ। भ्रमणकारी डर्टमण्डले घरेलु टोली बेसिक्तास जेकेलाई २/१ गोल अन्तरले पराजित गरेको हो। डर्टमण्डको जितमा जुड बेल्लिंघाम र एर्लिङ ब्राउट हालाण्डले १/१ गोल गरे। यस्तै बेसिक्तासको लागि फ्रान्सिस्को मोन्टेरोले १ सान्त्वना गोल फर्काए। 

समूह 'सी'बाट अजाक्स र डर्टमण्डको समान ३ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। बेसिक्तास र स्पोर्टिङ भने बिना अंक क्रमशः तेस्रो र चौथो स्थानमा छन्। 

प्रकाशित मिति: : 2021-09-16 06:31:00

प्रतिकृया दिनुहोस्