काभ्रे पुगेर गोकुल बास्कोटालाई प्रचण्डको व्यंग्य : ७० करोडको कुरा त सुन्नु भएको होला !

फाइल तस्वीर
फाइल तस्वीर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेक्युरिटी प्रेस खरिदको ७० करोड बार्गेनिङको प्रसंग सम्झिएका छन्।

वाईसीएलको पाँचखाल नगर सम्मेलन सम्बोधन गर्न काभ्रे पुगेका प्रचण्डले त्यहाँबाट निर्वाचित सांसद गोकुल बास्कोटा जोडिएको ७० करोड काण्डबारे चर्चा गरेका हुन्।

७० करोड काण्डमा छानबिन गर्नभन्दा एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीले फसाएको भनेर बास्कोटालाई संरक्षण दिएको प्रचण्डको दाबी छ।

‘ओली प्रधानमन्त्री भएपछि भ्रष्टाचार गर्दिनाँ, गर्न दिन्नँ भने। सुन्दा योभन्दा राम्रो त कुरा हुँदैन। तर उनले आफूले गरेका भ्रष्टाचार ढाकछोपमात्रै गरे,’ उनले भने, ‘काभ्रे जिल्लामा ७० करोडको कुरा त सुन्नु भएको होला। यो काण्ड प्रमाणित रूपमा आयो। मैले यस्तो विकृति विसंगति रोक्नुपर्छ भनेर ओलीलाई भने। तर ओलीले अकार्ले फसाएको हो भनेर उन्मुक्ति दिए। नांगै भ्रष्टाचार गर्ने, अनि गर्दिन गर्न दिन्न भन्ने ?’

प्रचण्डले आफ्नो पहिलो कार्यकालमा कसैले भ्रष्टाचार भयो भन्ने ठाउँ पनि नपाएको दाबी गरे। ‘मेरो पहिलो प्रधानमन्त्रीकालमा कसैले भ्रष्टाचारको उच्चारण गर्न पाएन। त्यति स्वच्छ कार्यकाल नेपालमा आजसम्म भएकै छैन,’ उनले भने।

प्रचण्डले आफ्नो दोस्रो कार्यकालमा २५ वर्षभन्दा यताको विकास भएको दाबी गरे। ‘दोस्रो कार्यकालमा पनि भ्रष्टाचार त झन हुँदै भएन। कसैले पत्रिकामा लेख्न सकेन,’ उनले भने, ‘तर ओलीको पालामा सुरुदेखि नै भ्रष्टाचार भयो। यति, ओम्नी, ७० करोड, खोपमा अनियमितता, वाइडबडी, जाँदाजाँदै बाजागाजामा करोडौंको भ्रष्टाचार गरे। यस्ता ढोंगी र पाखण्डी मान्छेले हामी जनताको सेवक हौं भन्ने ?’

प्रकाशित मिति: : 2021-09-23 16:40:00

प्रतिकृया दिनुहोस्