नेकपा (एकीकृत समाजवादी): ‘माथिल्लो कमिटीमा आफू, तल्लो कमिटीमा श्रीमती, साली, नातागोता’

अध्यक्ष माधव कुमार नेपाल र युवानेतृ मञ्जु यादव

माधवकुमार नेपाल नेतृत्वमा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीमा घोषणा गरिएका नामप्रति असन्तुष्टि देखिएको छ। एमाले फूटको सबैभन्दा प्रभाव देखिएको प्रदेश २ मा पुरुषवाद हावी भएको, नातागोताले स्थान पाएको भन्दै विरोध भएको हो।

एमालेभित्र विधि प्रक्रिया र पद्धति पालना नभएको भनी फुटेका पूर्वप्रधानमन्त्री नेपालले आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेका थिए तर पहिलो केन्द्रीय कमिटी गठनमा नेपाल स्वयमले त्यसै गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) मा लागेकी प्रदेश २ की प्रदेश सभा सदस्य रहेकी मञ्जु यादवले फेसबुकमै स्ट्याटस लेखिन्, 'प्रदेश दुई भनेको एस पार्टीका लागि दलाल प्रवृत्ति भएका पुरुष मात्रका लागि हो। माथिल्लो कमिटीमा आफू बस्ने अनि तल्लो कमिटीमा श्रीमती, साली, नातागोतालाई मनोनित गर्ने।'

यादवले नेतृत्वलाई चुनौतीका दिँदै भनेकी छिन्, ' चुनौतीका साथ भन्छु– आउने चुनावमा माथिल्लो कमिटीमा बसेका नेताहरुले प्रतिनिधिसभाका चुनावका टिकट लिने आट गरोस्। हामी जस्तो महिलाहरु तिमीहरुका दास होइनौँ, हुन सक्दैनौँ ।'

नेकपा (एकीकृत समाजवादी) ले आइतबार मात्र ३३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको थियो । जसमा नेताका आसेपासे र नातेदारलाई स्थान दिएको भन्दै सो पार्टीमा असन्तोष चुलिएको छ।

प्रकाशित मिति: : 2021-10-18 15:42:00

प्रतिकृया दिनुहोस्