मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक

File Photo
File Photo

संखुवासभाको मकालु गाउँपालिका-२ याङ्लेखर्कमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका-४ श्रीअन्तुका धरणीधर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। 

मकालु बेसक्याम्प घुम्न गएका घिमिरेको निमोनियाका कारण मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। घिमिरे सूर्योदय-४ श्रीअन्तुका शिक्षक तथा होमस्टे व्यवसायीसमेत हुन्।

मकालु बेसक्याम्प घुम्न गएका घिमिरेलाई याङ्लेखर्कमा पुगेपछि स्वास्थ्य समस्या देखिको थियो। उपचारका लागि बोकेर सदरमुकाम ल्याउँदै गर्दा मंगलबार बाटैमा मृत्यु भएको आफन्तले जानकारी दिए।

गत २८ असोजमा घिमिरेसहित उनका जेठा दाजु एकराज घिमिरे,माइला दाजु रुद्र घिमिरे, छिमेकी मिलन ढकाल, विराटनगर महानगरपालिका-४ का उज्वल घिमिरे, सुनसरीका सौजन घिमिरे र संखुवासभा चैनपुर नगरपालिका-६ का श्याम राउत मकालु आधार शिविर घुम्न गएका थिए।

घटनाबारे मृतकका दाजुले बिहीबार मात्रै प्रहरीलाई जानकारी गराएका थिए। घटनास्थल सदरमुकाम खाँदबारीबाट पाँच दिनको पैदलमा पर्दछ। संखुवासभाको मकालु आधार शिविरमा गत वर्ष खाँदबारी नगरपालिका-१ का २४ वर्षीय विवेक श्रेष्ठको लेक लागेर मृत्यु भएको थियो। 
 

प्रकाशित मिति: : 2021-10-22 12:27:00

प्रतिकृया दिनुहोस्