कर्णाली: मृतकका परिवारलाई दुई लाख दिने, घाइतेको उपचार प्रदेश सरकारले व्यहोर्ने 

बाढी, पहिरोलगायतका विपदबाट प्रभावित नागरिकलाई कर्णाली प्रदेश सरकारले राहत दिने भएको छ।

शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषदको बैठकले बेमौसमी वर्षाले निम्त्याएको विपद् पीडितलाई राहत दिने निर्णय गरेको कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीता नेपालीले बताइन्।

'बाढी-पहिरो लगायतमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई तत्कालै दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ,' उनले भनिन्, 'घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरिएको छ।'

कर्णाली प्रदेशमा पछिल्लो समय बाढी-पहिरोबाट सात जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मन्त्री नेपालीका अनुसार अन्नबालीमा भएको क्षति मुल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि परिषद्ले गरेको छ। क्षतिको यकिन विवरण संकलन गरी आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्ने जनाइएको छ।

विपद्का कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाइ र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्ने र पूर्णरूपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसँग समन्वय गरी पुनःनिर्माण तथा पुनर्स्थापना गर्ने प्रवक्ता नेपालीले बताइन्।

प्रकाशित मिति: : 2021-10-22 15:15:00

प्रतिकृया दिनुहोस्