एमालेमा गुटबन्दी सकियो, महाधिवेशनले साझा नेता छान्छ– पद्मा अर्याल

File Photo
File Photo

नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न शुक्रबारबाट चितवनमा १०औँ महाधिवेशन सुरु हुँदै छ। १५ वर्ष पार्टीको नेतृत्व लिएका माधवकुमार नेपाल समूह अलग भएपछि हुन लागेको महाधिवेशनकाबारे एमाले नेतृ पद्‌मा आर्यालसँग गरिएकाे कुराकानीः

एमालेको यो १० औं महाधिवेशन यसअघिको महाधिवेशनभन्दा के कारणले बढी अर्थपूर्ण छ ?

नवौं महाधिवेशनदेखि १०औं महाधिवेशनसम्म आइपुग्दा एमालेभित्र थुप्रै परिघटनाहरू भएका छन्। माओवादीसँगको पार्टी एकता, एकता भंग र पार्टीभित्रैको अन्तर्संघर्ष र त्यसले निम्त्याएको पार्टी विभाजन यही बीचमा भएका छन्। माओवादीसँगको एकता भंगपश्चात पनि कतिपय माओवादीका कमरेडहरू एमालेमै छन्। नेपालको इतिहासमा कुनै पार्टीमा पनि यति उथलपुथल भएको थिएन, जुन यो बीचमा भयो। 

अब यी सबै कुरालाई व्यवस्थापन गर्दै अघि बढ्नु पर्नेछ। सबैसामु सकारात्मक सन्देश हामीले प्रवाह गर्नुपर्नेछ र यो महाधिवेशनमार्फत यी सबै कुरा सम्भव हुनेमा हामी विश्वस्त छौँ।

यस पटक हामीले विधान र नेतृत्वको लागि छुट्टा छुट्टै महाधिवेशनको व्यवस्था गरेअनुसार अबको महाधिवेशन भनेको नेतृत्व चयनको लागि मात्र हो। यसैले पनि विगतको र अहिलेको महाधिवेशनमा यो पनि एउटा फरक पाटो छ। अबको पनि फेरि यो मुलुकको मूल पार्टी भनेको नेकपा एमाले नै हो भन्ने कुराको सन्देश प्रवाह गर्नेगरी यो महाधिवेशन हुँदै छ।

एमालेभित्र माओवादीका उच्च तहका नेताहरू पनि हुनुहुन्छ। केही समय माधव नेपालको पक्षमा खुलेर लागेका नेताहरू पनि हुनुहुन्छ र एमालै पनि पुराना नेताहरूको पंक्ति छँदै छ। यस अवस्थामा अब यी सबैलाई यो महाधिवेशनले कसरी समेट्छ ?

आकांक्षी साथीहरू त धेरै नै हुनुहुन्छ। एउटा निश्चित संख्या तोकिसकेपछि अब ती सबै आकांक्षी साथीहरू अट्ने कुरा पनि भएन। जहाँसम्म योे महाधिवेशनमा समेट्नुपर्ने पक्षको विषयमा कुरा उठिरहेको छ, त्यसको लागि पार्टीको नेतृत्व एकदमै सचेत रहेको छ र गर्छ पनि। 

अर्कोतर्फ हामीले त यो महाधिवशेनलाई एकताको महाधिवेशन भनेका छौँ। त्यसैले हामीसँग जोडिएर आउनुभएका सबै साथीहरूको उचित व्यवस्थापन हुन्छ र यसको लागि पार्टीको नेतृत्व तह गृहकार्यमा छ। सबै कुराको व्यवस्थापन गरेर मात्र यो महाधिवेशन सम्पन्न हुन्छ। 

प्रतिनिधि छनोटमा के छ अवस्था ? प्रतिस्पर्धा मात्र हुन्छ या प्यानलगत प्रतिस्पर्धा अथवा सर्वसम्मत के हुन्छ ?

हाम्रो पहिलो प्रयास भनेको सर्वसम्मत नै रहनेछ। तल्लो तहको अधिवेशनदेखि प्रतिनिधि छनोटसम्म हामीले सर्वसम्मतकै विधि अवलम्बन गर्‍यौं। त्यस्तै आम कार्यकर्ताको सुझाव पनि सर्वसम्मत नै रहेकाले उहाँहरूको सुझावको पनि हेक्का राख्दै नेतृत्वले सर्वसम्मतकै प्रयत्न गर्नेछ।

हामीले विधान महाधिवेशनमै प्यानल र गुटबन्दीलाई पार्टीबाट हटाएसकेका छौँ र सबैले संकल्प पनि गरिसकेका छौँ। सर्वसम्मत हुन सकेन भने स्वतन्त्र व्यक्तिको चुनाव हुन्छ, तर प्यानलको निर्वाचन हुँदैन। 

तपाईं चाहिँ कुन पदको प्रत्यासी ?

पार्टीमा काम गरिसकेपछि उच्च तहमा पुग्ने चाहना हुनु स्वाभाविक हो। म जस्ता थुप्रै साथीहरूको त्यो चाहना छ। यसको व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी भनेको नेतृत्वको हो। नेतृत्वले विवेक पुर्‍याएर यसरी जाऊँ भनेर प्रस्ताव ल्यायो भने सर्वस्वीकार्यसहित शिरोधार्य गरेर अघि बढिन्छ। तर, यस्तो अवस्था भएन र प्रतिस्पर्धा नै गर्नु पर्‍यो भने नेतृत्वसँग छलफल गरेर आफूलाई जहाँ उभ्याउनु पर्ने हो त्यहाँ उभ्याएर अघि बढिन्छ। 

एमालेले महाधिवेशनको लागि चितवन नै छनोट गर्नुको कारण के हो ? प्रचण्डले भने जस्तै माओवादीलाई निस्तेज पार्नकै लागि चितवन रोजिएको हो ?

उहाँ (प्रचण्ड)ले गर्नुभएको विश्लेषण गलत छ। चितवन भनेको कमरेड प्रचण्डको बिर्ता पनि होइन। चितवन भनेको नेपालको एउटा भाग हो। नेपालको जुनसुकै भागमा जुनसुकै पार्टीले पनि महाधिवेशन आयोजना गर्न सक्छ।

यसअघिका महाधिवेशन पनि हामीले देश विभिन्न स्थानमा गरेकै हौँ। ती महाधिवेशन गरिरहँदा हामीले कसैलाई सिध्याउने सोच राखेका थिएनौँ। मौसमको अनुकुलता, सबै साथीहरूको इच्छा र सहज व्यवस्थापकीय दृष्टीकोणले हामीले चितवन रोजेका हौँ। चितवनमा एमालेको महाधिवेशन भइरहँदा प्रचण्ड कमरेडलाई जोडी रहनुपर्ने वा उहाँ आफैँ जोडिनुपर्ने र त्यसै ढंगले टिकाटिप्पणी गर्नुपर्ने विषय म देख्दिनँ। एमालेले देशको जुनसुकै स्थानमा महाधिवेशन गर्न सक्छ। पार्टीले आफ्नो निर्णय गरेर महाधिवेशन गर्दा उहाँको टाउको दुख्नुपर्ने कुरा के छ र ?

यो महाधिवेशनले आमनगरिकलाई दिने सन्देश के हुनसक्छ ?

यो महाधिवेशनबाट एउटा सकरात्मक सन्देश प्रवाह हुनेछ। राष्ट्रिय राजनीतिको शक्ति सन्तुलन हुने गरी मूलधारको पार्टीको रूपमा अब एमाले स्थापित हुन्छ है भन्ने सन्देश यस महाधिवेशनबाट आमनगरिकले पाउनेछन्। 

प्रकाशित मिति: : 2021-11-25 18:08:00

प्रतिकृया दिनुहोस्