नेपाली कांग्रेस प्रदेश १ को मतदान सम्पन्न

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतदान सम्पन्न भएको छ। शनिबार भएको मतदानमा १८०४ मतदाता रहेकोमा १७५२ मत खसेको छ। 

निर्वाचन समितिको कमजोरीका कारण ढिलोगरी मतदान सुरु भएको थियो। निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएपछि विवाद हुँदा मतदान प्रक्रियामा ढिलाइ भएको हो।

प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो। अर्को मतपत्र छाप्दा मतदान रोकिने भएपछि नेताहरूले नामछुटेकालाई सर्वसम्मत गर्ने निर्णय गरेपछि बिहान ८ बजे हुने भनिएको मतदान दिउँसो २ बजेपछि मात्रै सुरु भएको थियो। 

खड्गीले भूगोल, नेपालीले दलित र राईले खुलाबाट उम्मेदवारी दर्ता गराएका थिए। नाम छुटेका तीनै जनाले शुक्रबार मनोनयन दर्ता गराएका थिए।

मतगणना भने आइतबार बिहान ८ बजेदेखि मात्रै सुरु गरिने निर्वाचन समितिले जनाएको छ। प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट उद्धव थापा र इतर समूहबाट गुरुराज घिमिरेबीच प्रतिस्पर्धा भएको छ।

प्रकाशित मिति: : 2021-12-04 20:53:00

प्रतिकृया दिनुहोस्