कांग्रेस प्रदेश १ मा गुरु घिमिरेले हारेपछि कोइराला परिवारप्रति संस्थापनइतर पक्ष रूष्ट

शेखरले मागे माफी, सुजाता आक्रोशित

File Photo
File Photo

सभापतिको उम्मेद्वार घोषणा गरेर देश–दौडाहमा रहेका कांग्रेस नेता शेखर कोइरालाप्रति उनकै कार्यकर्ता रुष्ट बनेका छन्।

प्रदेश १ का सभापतिको उम्मेद्वार बनाइएका गुरु घिमिरे पराजित भएसँगै यहाँ कोइरालाको आलोचना भएको हो।

आफैँले उठाएको उम्मेद्वार घिमिरेलाई शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्यले भोट नहालेको भनी निर्वाचन समितिले पुष्टि गरेपछि कोइराला पक्षधर कार्यकर्ता नै उनीसँग रुष्ट बनेका हुन्।

विराटनगरमा आइतबार भएको चुनावमा प्रदेश सभापतिमा गुरु घिमिरे दुई भोटले पराजित भएका हुन् जबकि उनलाई तीनै जना नेताले भोट दिएका भए जित्ने थिए तर मतदानमा सहभागी नै नभएर घिमिरेलाई हराउन तीन नेताको भूमिका निर्णायक भएको प्रमाणित भएको हो।

‘देउवा पक्षले जीतका लागि सभापति पद नै सिटौला पक्षलाई सुम्पिएको छ, उर्लाबारीका मेयर खड्ग फागोलाई समेत आफू पक्षमा ताने तर संस्थापनइतर पक्षले पहिले नै तय भइसकेको भन्दै चर्चित र सफल नेताहरुलाई पाखा लगाए, आफ्नै पक्षका कुरा मान्न तयार भएनन्। यसको परिणाम हाम्रा सामुन्ने छ’, कांग्रेसका प्रदेश प्रतिनिधि डा. बालकृष्ण साहले भने।

अधिवेशन उद्घाटन समारोहमा प्रदेश १ कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले नेताहरुप्रति तीव्र आक्रोश व्यक्त गरेका थिए। सोही आक्रोशको प्रभाव मत परिणाम पनि देखियो।

शेखर, सुजाता र महेशजस्ता कांग्रेसका 'शीर्ष नेता' हरुले आफ्नै समूहमा राम्रो तालमेल गर्न सकेनन्। दुई मत अन्तरले उद्धव थापासँग पराजित घिमिरेले पुनः मतगणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन् तर यसबारे केन्द्रले निर्णय गर्नेछ।

प्रदेश सभापतिमा झापाका उद्धव थापाले ८४४ मत प्राप्त गर्दा गुरुले भने ८४२ मत पाए। संस्थापन पक्षका नेताहरु उपसभापति विजय गच्छदार, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य अमृत अर्याल लगायतले थापालाई मतदान गरे तर निर्वाचन स्थलमै रहेका शेखर, सुजाता र महेश आचार्यले भने मतदान गरेनन्। कार्यक्रममा उपस्थित अर्का केन्द्रीय नेता बलबहादुर केसी पनि मतदानमा सहभागी भएनन्।

नेपाली काँग्रेस प्रदेश १ सभापति पदमा घिमिरेलाई उम्मेद्वार बनाउन डा. शेखर कोइरालासहितका नेताहरु जोड्तोडले लागेका थिए तर उनका उम्मेद्वारलाई पराजित गर्ने रणनीतिमा एकाकार भएका कृष्ण सिटौला, विजय गच्छदार, अमृत अर्याल सफल देखिए।

आफ्नै उम्मेद्वारलाई शीर्षनेताले मतदान नगरेका कारण गुरु घिमिरे पराजित भएको भन्दै कार्यकर्ताले रोष प्रकट गरिरहेका छन्। ‘गच्छदार, सिटौला सबैले भोट हाल्दा हाम्रा नेताहरु ठूलो मान्छे भएर मतदानमा नआउनु आपत्तिजनक रह्यो,’ कोइराला समूह मोरङका एक नेताले भने, ‘यो एकदमै अराजनीतिक र अपरिपक्व कदम थियो।’

मतदानका दिन शनिबार बिहान महेश आचार्यले आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय उपसभापति पदमा उम्मेद्वारी घोषणा गरेका थिए। त्यसलगत्तै उनी काठमाडौं हानिएका थिए।

प्रदेश १ मा संस्थापनइतर पक्ष– पौडेल–कोइराला पक्षधरको वर्चश्व भनिँदैआएको थियो तर सहजै जित्ने अधिक आत्मविश्वास र जितिहालिन्छ नि भन्ने दम्भका कारण सो पक्ष पराजित बनेको छ।

कोइराला पक्षको व्यवहारकै कारण 'नेतृत्व हस्तान्तरण हुनुपर्छ, सशक्त उम्मेद्वारलाई जिताउनुपर्छ' भन्ने जनमत पराजित हुन पुगेको छ। गुरु घिमिरेजस्तो एक उदाउँदो नेतामाथि घात भएको प्रदेश १ का कांग्रेस नेताहरुको निचोड छ।

मतदानमै सहभागी नभएर घिमिरेको हारको कारण बन्न पुगेका केन्द्रीय सभापतिका दाबेदार डा. शेखर कोइरालाले माफी मागेका छन्।

उनले भनेका छन्, कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरुदेखि नै “संशय” थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपयुक्त ठानें। यसक्रममा मबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।

कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रदेश १ मा पुनः मतदान हुनुपर्ने माग अघि सारेकी छन्। विधानअनुसार चुनावमा केन्द्रीय सदस्यहरुले मतदान गर्न पाउनुपर्नेमा बञ्चित बनाइएको भन्दै उनले पुनः मतदानको माग गरेकी हुन्।

मतदान अधिकृतले नै आफूहरुले मतदान गर्न नपाउने बताएको उल्लेख गर्दै कोइरालाले आफूहरुलाई मतदान गर्न नदिने गरी गलत सूचना दिएको उनको भनाइ छ।

मतदान गर्दा कानुनी जटिलता र मतदानको वैधानिकतामाथि नै प्रश्न आउने कुरा गरिएकाले मतदान गर्न नपाएकोमा आक्रोश पोख्दै पुनःमतदानको माग गरेकी हुन्।

राजीव कोइरालामाथि अन्याय

कतिपय नेता, कार्यकर्ताले प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका सुनसरीका निवर्तमान पार्टी सभापति राजीव कोइरालामाथि अन्याय गर्दा घिमिरेले हार बेहोर्नुपरेको बताएका छन्। इटहरीका एक नेताका अनुसार प्रदेश १ मा तत्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि कोइराला मुख्यमन्त्री बन्ने निश्चितता थियो। तर, नेकपा (एस) का नेता राजेन्द्र लिङ्देनलाई गठबन्धनले मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कोइरालामाथि अन्याय भएको तर्क राख्दै आएका थिए। सुनसरीमा पार्टी सभापति रहँदा प्रभावशाली रूपमा नेतृत्व गरेका कोइराला मुख्यमन्त्री नबनेपछि कांग्रेस प्रदेश १ को सभापतिमा उठ्ने तय भइसकेको थियो। सोही अनुसार आन्तरिक रूपमा प्रचार पनि भयो। तर, पौडेल–कोइराला समूहले गुरूराज घिमिरेलाई नै उमेद्वार बनाएपछि राजीवमाथि अन्याय भएको ती नेताले बताए। घिमिरेले निर्वाचनमा झिनो मतान्तरले पराजय भोग्नुको धेरै कारणमध्येको एक कारण राजीवमाथिको अन्याय भएको उनको तर्क थियो।

यस्तो छ कार्यसमिति

सभापतिमा थापा विजयी भएसँगै उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन्। उनीहरूलाई क्रमश ८९१ र ८४७ मत प्राप्त भएको छ। निकटतम प्रतिद्वन्द्वी गोविन्द प्रसाद ढुंगाना (केदार) को ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन) को ६६९ मत आएको छ।

यस्तै, महामन्त्रीमा संस्थापन इतरका उमेश थापाले ८ सय ३ मत प्राप्त गर्दै विजयी भएका छन्। यस्तै, संस्थापन पक्षका भुपेन्द्र राईले ८ सय २४ मत ल्याई विजयी भएका छन्। सह–महामन्त्रीमा महिलातर्फ संस्थापन पक्षकी प्रमिला गच्छदारले ८ सय ३७ मत ल्याएर विजयी भएकी छन् भने इतरकी सीता कार्कीले ७ सय ९३ मत प्राप्त गरेकी छन्। यस्तै, सह–महामन्त्री खुल्लातर्फ खड्ग फागोले १ हजार २६ मत प्राप्त गर्दै विजयी भएका छन्। यस्तै, अर्का विजयी बिनोद कुमार बस्नेतले ७ सय ४७ मत प्राप्त गरि विजयी बनेका छन्।
 

को हुन् नवनिर्वाचित थापा ?

नेपाली कांग्रेस प्रदेश १ का नवनिर्वाचित सभापति उद्वव थापाले वि.सं. २०३४ सालमा नेविसंघबाट राजनीति सुरु गरेका हुन्। वीपी कोइरालाको सुरक्षा दस्तामा रहेर समेत काम गरेका उनले झापाको अर्जुनधारा गाउँ समितिमा पार्टीको सचिव÷सभापति हुँदै २ नम्बर क्षेत्रको क्षेत्रीय सभापति, काँग्रेस जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको भूमिका निर्वाह गरिसकेका छन्।

प्रकाशित मिति: : 2021-12-06 16:08:00

प्रतिकृया दिनुहोस्