बैतडीकाका शिक्षकले १७ महिनाको तलब अझै पाएनन्

गाउँबाट विस्थापित बैतडीका शिक्षक करन रानाले १७ महिनासम्मको तलब पाएका छैनन्। 

जिल्लाको दशरथचन्द नगरपालिका-४ स्थित ईश्वर आधारभूत विद्यालयमा अध्यापनरत राहत शिक्षक राना तलब नपाएको भन्दै गत भदौ महिनामा पाँच दिनसम्म श्रीमती र चार छोराछोरीसहित आमरण अनशन बसेका थिए। 

जिल्ला शिक्षा समितिले केही दिनमै तलब प्रदान गर्न पहल गर्ने बताएपछि अनशन तोडेका थिए। त्यो समयमा उनको १४ महिनाको तलब बाँकी थियो भने अहिले १७ महिना पुगिसकेको छ।

शिक्षक रानाले भने, ‘हामी सपरिवार जिल्ला समन्वय समितिको प्राङ्गणमा शिक्षा समिति अध्यक्षको कार्यकक्ष अगाडी आमरण अनशनमा बसेका थियौं। माग पुरा नभए अनशनमै मर्नेसम्म भनेका हौं। तर, पाँच दिनपछि जिल्ला शिक्षा समितिका अध्यक्ष सिद्धराज भट्ट, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नरेन्द्र अवस्थी र दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथ केही पत्रकारहरूको साथमा जानुभयो। माग पुरा गर्ने प्रतिबद्धता गर्नुभयो। र, हामीले अनशन तोड्यौं। एक/दुई दिन भित्रै तलब खुवाउँछौँ भनिएकोमा अहिले थप तीन महिना बित्यो तलब पाइएको छैन।’

श्रीमानको तलब नआउँदा दैनिक छाक टार्न मुस्किल भएको रानाकी श्रीमती राजु रानाले बताइन्। उनले पाँच हजार कोठा भाडा तिर्नुपर्छ, विद्युत् महसुल, पानीको महसुल, दैनिक उपभोग्य सामान, छोराछोरीको विद्यालयको शुल्क केही पनि तिर्न सकेका छैनौं। १२ लाख बढी रकम ऋण तिर्नु बाँकी छ। चार लाख व्यापारीहरूबाट उधारोमा खाएको रासनको पैसा तिर्न बाँकी छ। साहुहरू कोठामै आएर गाली गर्छन्।’

करन राना दम्पती २०७२ सालमा एक दलित केटासँग चन्दको छोरी भगाएको झुटो आरोपमा शिवनाथ गाउँपालिका-६ बाट विस्थापित भएका थिए। उनीहरूलाई गाउँलेले लखेटेपछि जिल्ला सदरमुकाममा बस्दै आएकाछन्। उनीहरूलाई लगाएको आरोप भने अदालतले झुटा ठहर गरिसकेको छ।

उनीहरूको घरसमेत जलाइएकाले जिल्ला सदरमुकाममै बस्दछन्। अझै पनि राना परिवारलाई गाउँलेबाट ज्यान मार्ने धम्की आउने गरेको छ।

शिवनाथ गाउँपालिका-६ स्थित हिरापुर माविमा राहत कोटामा कार्यरत शिक्षक राना ६ वर्षअघि गाउँबाट विस्थापित भएपछि अहिले दशरथचन्द नगरपालिका-४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा काम गरिरहेका छन्। 

हिरापुर मावि शिवनाथले शिक्षक रानालाई दशरथचन्द नगरपालिका भित्र पदस्थापनको लागि स्वीकृति दिइसकेको छ। तर, रानाले काम गरिरहेकै विद्यालयमा राहत कोटा खाली भए पनि जिल्ला शिक्षा समितिले पदस्थापन गरेको छैन। आफ्नो पदस्थापन र रोकिएको तलब माग गर्दै राना सपरिवार अनशन बसेका थिए। 

सीपी लोहिया

प्रकाशित मिति: : 2021-12-08 19:12:00

प्रतिकृया दिनुहोस्