एएफसी महिला एसियन कप: इन्डोनेसियाको पोस्टमा अष्ट्रेलियाको १८ गोल

File photo
File photo

उपाधि दाबेदार अष्ट्रेलियाले कमजोर मानिएको इन्डोनेसियालाई एएफसी महिला एसियन कप–२०२२ को आफ्नो पहिलो खेलमा शुक्रबार १८–० ले पराजित गरेको छ। 

युरोपेली फुटबलको अनुभव बटुलेको अष्ट्रेलियाका खेलाडी सामु भारतको मुम्बई फुटबल मैदानमा निरीह बनेको इन्डोनेसियाले कुनै पनि समय दबाब बनाउन सकेन। 

पहिलो हाफमा नौ गोल गरेको अष्ट्रेलियाले दोस्रो हाफमा थप नौ गोल गरेको थियो। अष्ट्रेलियाकी साम कर एक्लैले पाँच गोल गरिन्। यस्तै भान इगमोण्ड र सिमोनले समान चार गोल गरे। 

जितसँगै अष्ट्रेलियाले समूह ‘बी’ मा महत्त्वपूर्ण तीन अंक जोडेको छ। यस समूहमा अष्ट्रेलियासँगै फिलिपिन्स, थाइल्यान्ड र इन्डोनेसिया रहेका छन्। 

यस अघि आज भएको पहिलो खेलमा अर्को उपाधि दाबेदार जापानले म्यानमारलाई ५–० ले पराजित गर्‍यो। जितसँगै समूह ‘सी’ बाट जापानले तीन अंक बटुल्यो। यस समूहमा जापान र म्यानमार सहित दक्षिण कोरिया र भियतनाम रहेका छन्। 

यस अघि बिहीबारबाट सुरु भएको प्रतियोगितामा चीनले चाइनिज ताइपेलाई ४–० ले पराजित गर्दा आयोजक भारत र इरानले गोलरहित बराबरी खेल्दै अंक बाढे।

 


 
 

प्रकाशित मिति: : 2022-01-21 18:45:00

प्रतिकृया दिनुहोस्