महिला राष्ट्रिय लिग निर्धारित समयमा नहुने

Photo : ANFA
Photo : ANFA

अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको राष्ट्रिय महिला लिग निर्धारित समयमा नहुने भएको छ। कोभिड-१९ को तेस्रो संक्रमण (ओमिक्रोन) बढ्दै गएपछि एन्फा राष्ट्रिय महिला लिग निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने योजनामा पुगेको हो।

एन्फा महासचिव ईन्द्रमान तुलाधरले न्युज कारखानासँग राष्ट्रिय लिग निर्धारित समयमा नहुने बताए। ‘यो अवस्थामा राष्ट्रिय लिग निर्धारित समयमा नहुन सक्छ। अब, हामी अध्यक्ष ज्यू ९कर्मा छिरिङ शेर्पा०सँग कुरा गरेर सम्बन्धित क्लबलाई पत्र काट्छौं।’ तुलाधरले भने।

यसअघि एन्फाको २२ पुसमा बसेको २४ घण्टा लामो साधारण सभाले महिला राष्ट्रिय लिग यहि १५ माघदेखि संशोधित बजेटसहित पायक पर्ने स्थानमा आयोजना गर्ने निर्णय गरेको थियो।

यस पटक एन्फाले आठ टोली सहभागी राष्ट्रिय महिला लिगलाई विराटनगर रंगशालामा गर्ने तयारी गरेको थियो। तर, कोरोना संक्रमण बढ्दै जाँदा मैदान तयारीदेखि क्लबको तयारीलाई समेत प्रभावित हुँदा एन्फा कोरोना परिस्थिति हेरेर लिग गर्ने योजनामा पुगेको  छ। ‘अहिले नै हुन्छ भन्न सकिँदैन। हामी कोरोनाको प्रभाव कत्तिको पर्दै जान्छ। त्यसलाई हेरेर नयाँ मिति तोक्छौं,’ तुलाधरले भने। यसअघि एन्फा महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलोे राउण्ड सकिने र १५ दिनको बिश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराएका थिए।

लिगमा गतबर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ। विभागीय टोलीहरू एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लबसहित विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाले लिग खेल्नेछन्।

गत फागुनमा सम्पन्न लिगमा एन्फाले सहभागी टोलीलाई ४ विदेशी खेलाडी खेलाउने पाउने नियम बनाएको थियो। लिगमा एपीएफले १० अंकको अग्रतासहित उपाधि कब्जा गरेको थियो। 
 

प्रकाशित मिति: : 2022-01-23 13:01:00

प्रतिकृया दिनुहोस्