बाजुरामा कोरोना परीक्षण निःशुल्क

बाजुरामा पीसीआर परीक्षण निःशुल्क हुन थालेको छ। जिल्ला अस्पताल बाजुराले सञ्चालनमा ल्याएको पीसीआर ल्याबमा कोरोना परीक्षण निःशुल्क भइरहेको अस्पतालका प्रमुख डा। प्रकाशराज जोशीले बताए। अस्पतालले कोभिड परीक्षण लक्षित गर्दै हालै ल्याब सञ्चालनमा ल्याएको हो।

सेवा सञ्चालन आएपछि एक सय ७६ जनाको पीसीआर परीक्षण भइसकेको छ। जसमध्ये ५० जनामा पोजेटिभ देखाएको छ। अन्यत्र सरकारी अस्पतालमा पीसीआर जाँच गरेको आठ सय र निजीमा दुई हजारभन्दा बढी लाग्ने गरेको छ।

कोभिडको शंका लागेका र परीक्षण गर्ने पैसा नभएका बिरामीको निःशुल्क परीक्षण गरेको अस्पतालका प्रमुख जोशीले बताए। एक पटक पोजेटिभ आएपछि पटक पटक परीक्षण गर्नु पर्ने भएकाले निःशुल्क गर्दा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निकै सहज भएको स्थानीय बलबहादुर रोकायाले बताए।

यसअघि कोभिड परीक्षण गर्नु परे धनगढी, डोटीलगायत जिल्लामा जानुपर्ने बाध्यता समेत थियो। पीसीआर ल्याब सञ्चालनका लागि संघीय सरकार, प्रदेश सरकारले लगानी गरेको हो।

प्रकाशित मिति: : 2022-01-23 15:55:00

प्रतिकृया दिनुहोस्