हिमाली बस्तीमा हिमपातले जनजीवन प्रभावित

हिमाली जिल्ला विभिन्न क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ। यता ताप्लेजुङमा तेस्रो पटक ठूलो हिमपात भएको छ। समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका—७ याङमा तीन हजार ४०० सय मिटर उचाइ क्षेत्रका बस्तीहरूमा बिहीबारदेखि बाक्लो हिमपात भएसँगै जनजीवन कष्टकर बनेको छ।

अहिले हिमाली बस्तीहरू हिउँले छोपिएको छ। गत बिहीबारदेखि हिमपात हुन सुरुभएकोमा आज पनि हिमपात जारिरहेको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए। हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका शेर्पाले बताए।

हिमपातले जनजीवन प्रभावित हुनका साथै पशुचौपायसमेत प्रभावित भएको घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले बताएका छन्। हिमाली क्षेत्रका प्रमुख पुर्खौली पेसाको रुपमा पशुपालन गर्दै आएको छ। तर, हिमपातको समय पशु जोगाउ नै मुस्किल पर्ने शेर्पाले बताए। सबैभन्दा याक चौँरीका बाछाबाछीलाई हिमपातको समयमा जोगाउन समस्या हुने शेर्पाले बताए।

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुगोला र भले, ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपातले बस्ती छोपेको छ। मिक्वाखोला गाउँपालिका-६ तोक्पेगोला र पापुङ बस्तीहरूमा समेत हिमपात  भएको मिक्वाखोला गाउँपालिका-६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए। 

त्यस्तै समुद्र सतह देखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ। हिमपातका कारणले पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीसमेत प्रभावित हुन पुगेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए।

हिमपात भएसँगै यता सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ। अध्यधिक जाडोले जनजीवन प्रभावित भएको छ। ताप्लेजुङमा पहिलो पटक पुस १३ र १४ गते हिमपात भएको थियो। दोस्रो  २९ गते हिमपात भएको थियो। अहिले ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको हो।

यता जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार (आज) देशभर मौसम सामान्यदेखि पूर्ण बदली हुने बताए। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको र देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: : 2022-01-23 17:52:00

प्रतिकृया दिनुहोस्