रेबिजको आंशकामा दोर्पाचिउरीडाँडाका गाईबस्तुलाई खोप 

रेबिजको आंशकामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा खरबारीका गाईबस्तुलाई खोप दिइएको छ।

र्‍याल चुहाउने, कराउने र मान्छेलाई झम्टने लगायतका समस्या देखिएको केही समयपछि एउटा बहर र एउटा ब्याउने गाई मरेपछि स्थानीयको आग्रहमा आइतबार नगरपालिकाको पशुसेवा शाखाको व्यवस्थापनमा गाईबस्तुलाई रेबिजविरुद्धको खोप दिइएको हो।

गाईबस्तुमा रेबिजको लक्षण देखिएको भन्दै गाउँमा त्रास फैलिएपछि १६ वटा गाईगोरु र भैंसीलाई रेबिज विरुद्धको खोप दिइएको पशुसेवा शाखा प्रमुख गणेश आचार्यले बताए।

स्थानीय मणिप्रकाश राई, पर्शुराम राई, मानबहादुर राई, श्यामबहादुर राई र खड्गबहादुर भुजेलको गाईबस्तुलाई खोप लगाइएको हो। पर्शुरामले गत मंसिरमा गोरुसँग साटेर लिएको बहरमा कराउने, मान्छेलाई झम्टने लक्षण देखिएको केही समयपछि ५ माघमा मरेको थियो।

श्यामबहादुरको सोही लक्षण देखिएको ब्याउने गाई आइतबार मरेपछि गाउँमा रेबिजको आशंकामा त्रास फैलिएको थियो। गाउँघरमा भुस्याहा कुकुर बढेको बेला गाईबस्तुमा रेबिजको लक्षण देखिएकाले रेबिजको त्रास फैलिएको मनिप्रकाशले बताए। 

नगरपालिकाको पशुसेवा शाखाले भने गाईबस्तुमा रेबिज नभै निमोनियाको लक्षण देखिएकाले त्रास नमान्न आग्रह गरेको छ। रेबिज र निमोनियाको केही लक्षण उस्तै देखिने भएकाले त्रास मान्नुपर्ने अवस्था नभएको पशुसेवा शाखा प्रमुख आचार्यले बताए। 

‘पहिल्यै रेबिज देखियो भनेर भेटेरिनरी प्राविधिकलाई अनुगमनमा पठाएका थियौं, हामी आफै पनि पुगेर अध्ययन गर्दा गाईबस्तुलाई रेबिज लागेको पुष्टि भएन,’ आचार्यले भने, ‘खेतमा बाँधेको गाईबस्तुलाई चिसोले निमोनिया भएको हो। यद्यपि, त्यी गाईबस्तुसँग लसपस भएका अन्य गाईबस्तुलाई खोप दिइएको छ।’

प्रकाशित मिति: : 2022-01-23 18:01:00

प्रतिकृया दिनुहोस्