एमसीसीबारे निर्णायक वार्ता गर्न बालुवाटार छिरे ओली

कमल प्रभात

काठमाडौं
File Photo
File Photo

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। पार्टी उपाध्यक्ष विष्णु पाैडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उनी मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटर पुगेकाे स्राेतले जनाएकाे छ।

देउवा र ओलीबीच अमेरिकी सहयाेग परियाेजना मिलिनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) का विषयमा छलफल भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए।

देउवा-ओली विशेष वार्ताकाे संयाेजन एमाले उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेस नेता मिनेन्द्र रिजालले गरेको बताइएको छ । 

एमसीसी संसदमा टेबल हुँदा समेत एमालेले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेकाे छैन। उसले सत्ता गठबन्धन ताेड्नुपर्ने र सभामुख अग्निप्रसाद सापकाेटालाई महाअभियाेग लगाए मात्रै एमसीसी पास गर्न कांग्रेसलाई सहयाेग गर्ने अडान लिएकाे छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न मंगलबार साँझ बालुवाटार पुगेका छन्। उनले देउबासँग 'सरकार ढाल्दैनौं, दुई-तिहाई नजिक पुर्‍याइदिन्छौं, अघि बढ्नुस्' भन्ने नयाँ प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ।

यसअघि यसै विषयमा कुराकानी गर्न प्रधानमन्त्री देउवा ओली निवास बालकाेट पुगेका थिए। त्यसबेला ओलीले गठबन्धन ताेडे एमसीसी पास गर्न सहयाेग गर्ने वचन दिए पनि  एमालेले चुनावमा माओवादीसँग तालमेल गर्नसक्ने आशंकाका साथ देउबा अगाडि बढ्न अन्कनाएका थिए।

गत आइतबार संसदमा टेबल भएसँगै एमसीसी  वार कि पारकाे अवस्थामा छ। एमसीसी पास गर्ने नगर्ने भन्ने विषयमा छलफल गर्न यतिबेला विभिन्न दलका शीर्ष नेताहरूकाे दाैडधूप जारी छ।

यसअघि मंगलबार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच भेटवार्ता भएकाे थियाे।

प्रकाशित मिति: : 2022-02-22 18:42:00

प्रतिकृया दिनुहोस्