पार्टीका निर्णय नमान्नेहरु कांग्रेसबाट बाहिरिँदा हुन्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका निर्णय नमान्नेहरु बाहिरिँदा हुने बताएका छन्।

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ ले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने र  नमान्नेहरु पार्टी छाडेर जाँदा हुने बताएका हुन्।

उनले कांग्रेसमै बसेर पार्टी कमजाेर बनाउनेहरु पार्टीमा बस्नुभन्दा बाहिरिँदा राम्रो हुने बताएका हुन्। सिंहले यसपटक चुनावमा कांग्रेसका नेता/कार्यकर्ता कसले के गरेको छ सबैको एकएक हिसाब हुने समेत बताएका छन्।

गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले सृजना गरेको र मुलुकको आवस्यकता भएको उनले बताएका छन्। नेता सिंहले संविधान जोगाउनका लागि गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने बाध्यात्मक अवस्था रहेकाले चुनावसम्मै गठबन्धन कायमै रहने समेत बताएका छन्।

उनले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गरेर निर्वाचनमा जाने समेत बताएका छन्। पार्टीभित्रका केही आफूलाई क्रान्तिकारी भन्ने नेताहरुले सबै जान्दाजान्दै गठबन्धनविरुद्ध बोल्नुले जनतामा अनावश्यक भ्रम छर्ने काम मात्रै भएको भन्दै उनले पपुलर बन्ने नाममा पार्टीलाई क्षति पुर्याउने काम मात्रै भएको बताएका छन्।

सिंहले पार्टीभित्र एकथरि समूह नियोजित रुपमा आफ्नो स्वार्थ पूरा नभएपछि व्यक्तिगत रुपमा चरित्रहत्याको अभियानमा लागिरहेको बताएका छन्। उक्त समूह सामाजिक सञ्जाल र मिडियामार्फत भ्रमको खेतीमा लागिरहेको समेत बताएका छन्।

उनले कम्युनिष्टहरु भरपर्दो र विश्वास गर्न लायक पार्टी नभएको आरोपसमेत लगाएका छन्। मुलुमा भ्रम छरेर जन्तालाई पटकपटक अल्मल्याउने काम मात्रै भएकाले यिनले अवसर पाउँदा के गरे यसका बारेमा जनतालाई बुझाउन समेत कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेपाली जनताको भरपर्दो र विश्वसनियता भएको पार्टी कांग्रेसबाहेक अरु हैन भन्ने पटकपटकका घटनाक्रमले पुष्टि गरिसकेको समेत उनले बताएका छन्।

नेता सिंहले कांग्रेस सबैलाई समन्वय गर्न सक्ने, संकटमा निकास दिन सक्ने पार्टी भएको कुरा भर्खरै एमसीसी पास गराउनेदेखि संविधान जारी गर्दाको मात्रै कुरा गरे पनि पुष्टि हुने बताएका छन्।

उनले स्थानीय कमिटीले विधिसम्वत उमेदवारी सिफारि गर्न नसकेर केन्द्र पठाएर केन्द्रीय नेताहरुलाई गाली गर्ने परम्परा यस पटक अन्त हुनुपर्ने बताएका छन्।

पार्टी विधानले दिएको अधिकार स्थानीय कमिटीले अक्षरशः पालना गर्न सके उम्मेदवारी छनोटमा कसैको हस्तक्षेप नहुने उनले बताएका छन्।

प्रकाशित मिति: : 2022-04-01 13:07:00

प्रतिकृया दिनुहोस्