बागमती प्रदेश सरकार परिवर्तनले सत्ता गठबन्धनलाई कुनै असर गर्दैन : इन्द्र बानियाँ

बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन्। 

बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको तयारी भइरहँदा गठबन्धनलाई कुनै असर नगर्ने उनले बताए। ‘बागमती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारुढ गठबन्धनलाई कुनै असर गर्दैन,’ उनले भने।

कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँले केही दिनअघि बागमती प्रदेशमा चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति पत्र सार्वजनिक गरेका थिए। बागमतीमा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन्। चुनावी सरकारकाे नेतृत्व कांग्रेसले गर्ने सहमति भएपछि पाण्डे मुख्यमन्त्री बनेका थिए।

गठबन्धनबीच सहमति भए बागमती प्रदेशको मुख्यमन्त्री बानियाँ हुने निश्चित छ। यसबारे छलफल गर्न शुक्रबार नै गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ। बागमती र सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व परिवर्तनका विषयमा गठबन्धन बैठकमा छलफल हुने भएकाे छ।

प्रकाशित मिति: : 2022-07-01 16:07:00

प्रतिकृया दिनुहोस्