महाभियोगमाथि अध्ययन छिट्टै सक्न सभामुख सापकोटाको आग्रह

File photo
File photo

सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गरेका छन्।

२२ साउनमा प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग, महाअभियोग सिफारिस समितिमा पठाएको थियो। तर, हालसम्म सिफारिस समितिले काम शुरु गरेको छैन। यही बेला सभामुख सापकोटाले सिफारिस समितिका उपलब्ध सदस्यहरूको सहजीकरण बैठक राखेर यस्तो आग्रह गरेका हुन्।

सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार महाअभियोग सिफारिस समितिको सहजीकरणका लागि सभामुखले बैठक राखेका हुन्। सहजीकरण बैठकमा समितिका ११  सदस्यमध्ये आठ जना उपस्थित थिए।

संघीय संसद सचिवालयका महासचिव र सचिव लगायतको पनि उपस्थिति रहेको थियो। महाअभियोग सिफारिस समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ। बैठकमा सभामुख सापकोटाले महाअभियोगबारे प्राप्त जिम्मेवारी छिट्टै सम्पन्न गर्न आग्रह गरेका हुन्।

समितिमा विष्णु पौडेल, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह छन्। संसद सचिवालयको रेकर्डका अनुसार रामबहादुर विष्ट यो समितिका जेष्ठ सदस्य हुन्। उनकै नेतृत्वमा पहिलो बैठक बस्नेछ। पहिलो बैठकले समितिको आन्तरिक कार्यविधि तय गर्ने, संयोजक तोक्ने लगायतका कार्य गर्ने समितिका सचिव गौतमले बताए । तर, पहिलो बैठक बस्ने मिति तय भएको छैन।

प्रकाशित मिति: : 2022-08-10 16:04:00

प्रतिकृया दिनुहोस्