नेपालगञ्जमा ‘टोले गुण्डा’काे बिगबिगी

गत साउन २ गते राति नेपालगञ्ज उपमहानगरपालिका- १२ मा बस्ने युवराज शाहीको गाडीमा ‘टोले गुण्डा’हरुको एउटा समूहले तोडफोड नै गर्‍याे।

आफूसँग व्यत्तिगत रुपमा कुनै चिनजान, लेनदेन, नाता सम्बन्ध तथा रिसिबी केही नभएको अवस्थामा समेत डर धम्की दिने, भौतिक आक्रमण गर्ने, लुटपाट गर्ने, सांघातिक हमलासमेत हुन थालेपछि आफूले असुरक्षित महसुस गरेको र जीवन रक्षाको मागसहित उजुरी दिनुपर्ने अवस्थामा पुगेको पीडित युवराज शाहीले गुनासो गरेका छन्।

शाहीले भने,‘मेरो घरमै आएर तोडफोड गर्ने र सांघातिक हमला गर्नेलाई तुरुन्त कारबाही गरियोस्।’ घटना भएको यतिका दिन हुँदा पनि घटनामा संलग्नहरु पक्राउ नपरेको र स्थानीय प्रशासनले समेत अपराधिक घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै उनले नेपालगञ्जमा गुण्डाराज बढेको गुनासो गरेका छन्।

नेपालगञ्जमा बढेका अपराधिक घटनामा नेकपा एमाले समर्थित टोलो गुण्डा सुमन मल्लको संलग्नता गरेको प्रहरीको अशंका छ।

एमालेका तर्फबाट खजुरा गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत रहेका उनको भूमिका शंकास्पद रहेको प्रहरी अधिकारीहरु बताउँछन्।

प्रहरी स्राेतले भन्छ, ‘सुमन मल्लका गतिविधिमाथि हामीले गम्भीर रुपमा निगरानी गरिरहेका छौं। केही ठोस प्रमाण पनि संकलन भएका छन् र आवश्यक प्रमाण पुगेको दिन प्रहरीले एक्सन लिन्छ।’

नेपालगञ्जमा होटलहरुमा क्यासिनो बढ्न थालेपछि मल्लको सक्रियता पनि नेपालगञ्जमा बढ्न थालेको प्रहरीको आशंका छ।

क्यासिनोहरुमा मिटर ब्याजमा मल्लले ऋणदिने गरेको सूचना पनि प्रहरीले प्राप्त गरेको स्राेतको दावी छ। गैरकानुनी काममा मल्ल आफैँभन्दा पनि विनोद खड्कालाई परिचालन गर्ने गरेका छन्।

खड्का मल्लको अपराधिक घटनामा संलग्न हुँदै आएका छन्। यसअघि पनि खड्कालाई प्रहरीले कुटपिटको केसमा एकपटक कारबाही गरिसकेको छ।

प्रकाशित मिति: : 2022-08-18 14:10:00

प्रतिकृया दिनुहोस्