इलाममा रोपाईंजात्रा मनाइयो

File photo
File photo

परापूर्वकालदेखि मनाउँदै आइएको रोपाइँ जात्रा आज इलाम बजारमा धुमधामका साथ मनाइएको छ। नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा यो पर्व मनाइएको हो। 

संस्कृतिको रक्षा र नयाँ पुस्तालाई पुराना कुराको जानकारी गराउने उद्देश्यले यो पर्व मनाइएको समाजका अध्यक्ष प्रवीन श्रेष्ठले जानकारी दिए। उनले यस वर्ष बन काइला र वन काइलीसमेत निकालिएको छ। जुन पहिला राज्य प्रमुख (राजा रानी) आउँदा इलाम बजारमा निकालिने गरिन्थ्यो। 

अघि अघि हल गोरु र हलीको वेषमा कलाकारबीचमा पञ्चेबाजासहित धान रोपेको अभिनयका साथमा कलाकारले रोपाइँ जात्रामा मनोरञ्जन दिने गर्दछन्। साथै मुङ्ग्रे, साधु, माग्ने र जोगीको अभिनयसहित कलाकारले बजार परिक्रम गरेका छन्।

जिल्लाका विभिन्न बजारमा यो जात्रा मनाइने गरिएको छ। रोपाइँ गरेर गलेका किसानलाई मनोरञ्जन प्रदान गर्न सुरुमा यो पर्व मनाउन थालिएको बताइएको छ। विभिन्न बजारमा लाग्ने हटियाको दिन पारेर यो जात्रा निकालिन्छ।

पश्चिमी क्षेत्रमा रहेको मङ्गलबारे बजारमा बुधबार धुमधामका साथ रोपाइँजात्रा पर्व मनाइएको छ। परम्परागत रुपमा मनाइँदै गरेको जात्रा यस वर्ष पनि मनाइएको हो। जात्रा स्थानीय भानुभक्त माविको आयोजनामा निकालिएको हो।

विक्रम संवत् २०१८ बाट मनाइँदै आएको जात्रा कोरोनाका कारण यस अघिका दुई वर्ष र माओवादी द्वन्द्वका समयमा दुई वर्षबाहेक हरेक वर्ष मनाउँदै आइएको भानुभक्त माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशचन्द्र खनालले  बताए। 

प्रकाशित मिति: : 2022-08-18 14:16:00

प्रतिकृया दिनुहोस्