'हनी ट्रयाप'मा पारेर रकम उठाउने युवतीसहित पाँच जना पक्राउ

दाङमा हनी ट्रयापमा पारेर पैसा कमाउने धन्दामा लागेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीया दिलिप कुमार वली, दाङ घोराही उपमहानगरपालिका १० नारायणपुर बस्ने ३२ वर्षीया पवित्रा डाँगी, सोही ठाउँकी ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र सर्मिला भन्ने प्रर्मिला नेपाली रहेका छन्। 

उनीहरुले घोराही– १० नारायणपुरमा सुनचाँदी व्यवसायी गर्ने सोही ठाउँका दिनेश घर्तीमगरलाई हनी ट्रयापमा पारेर पैसा मागेका थिए। पक्राउ परेका दिलिपकुमारको संलग्नतामा युवती प्रर्मिलालाई प्रयोग गरेर यो गिरोहले पैसा कमाउ धन्दामा लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए। 

उनकाअनुसार प्रर्मिलाले साउन २६ गते राती ११ बजे सुनचाँदी व्यवसायी घर्तीमगरलाई आफ्नो कोठामा बोलाएकी थिइन। घर्तीमगर उनको कोठामा पुग्नासाथ दिलिप, बिमला, शान्ता र पवित्रा पर्मिलाको कोठामा पुगे।

 

त्यसपछि उनीहरुले चेलीबेटीलाई बलात्कार गर्ने भन्दा हातपात गर्नुका साथै करणी आरोपमा प्रहरीमा उजुरी दिने धम्की दिए। तर उनीहरुले पैसा दिए कुरा प्रहरी कहाँ नपुग्ने बताए। त्यसपछि उनीहरुले घर्तीमगरसँग १ वटा घडेरी पास गर्न धम्की दिएका थिए। 

घर्तीले घडेरी आफूसँग नभएको र पैसा दिने बताएपछि साउन २७ गते १ लाख नगद, २ लाखको २ वटा चेक र ७ लाख २० हजारको अर्को चेक गरी कुल १२ लाख २० हजार उनीहरुले लगेका थिए। पक्राउ परेकाहरुले पैसा कमाउने धन्दासहित यो क्रियाकलाप गरेको एसपी काफ्लेले बताए। 

आफूसँग पैसा असुलेको खबर घर्तीले २७ गते नै प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुमाथि अहिले थप अनुसन्धान भइरहेको छ।

 

प्रकाशित मिति: : 2022-08-18 15:43:00

प्रतिकृया दिनुहोस्