नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगर्ने सम्भावना भएकाे बताएका छन्।

पोखरा विमानस्थलमा शुक्रबार बिहान संचारकर्मी सँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताए।

‘राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना पनि छ। प्रमाणीकरण नगरे यो विषय अदालत जाने सम्भावना पनि छ। दोस्रो कुरा, उहाँले राजीनामा दिने विकल्प रहन्छ’, उनले भने।

दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि आफूसमक्ष आएको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई सुझाव र सन्देशसहित राष्ट्रपति भण्डारीले फिर्ता गरेकी थिइन्।

यसपछि फेरि संघीय संसदका दुवै सदनले छलफलपछि उक्त विधेयकलाई जस्ताको तस्तै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ। अब उक्त विधेयक फिर्ता गर्न कानुनले नमिल्ने भएकाले राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुपर्ने प्रचण्डको दाबी छ।

प्रकाशित मिति: : 2022-09-09 12:15:00

प्रतिकृया दिनुहोस्