अध्यक्ष फरार भएपछि उपाध्यक्षलाई बाइपास गरेर वडाध्यक्षलाई पालिकाको जिम्मा !

BreaknLinks
BreaknLinks

व्यवसायिक साझेदारको सम्पत्ति हडप्न खोज्दा मुद्दा परेर फरार भएपछि रिक्त अध्यक्ष पदमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाकी उपाध्यक्ष हेरेको हेर्यै भएकी छन्।

गाउँपालिकाको नगरकार्यपालिका बैठकले उपाध्यक्ष फातुमा खातुन अन्सारीलाई बेवास्ता गर्दै वडा–१ का वडाध्यक्ष चुल्हाई प्रसाद यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइको हो। वडाध्यक्ष यादवलाई जिम्मेवारी दिएपछि गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले आपत्ति जनाएकी छन्।

आफ्नै व्यवसायिक साझेदारलाई लागुऔषधको झुठो मुद्दामा फसाएको आरोप लागेर अदालतले पक्राउ पुर्जी जारी गरेपछि गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता तिनसाता यता फरार छन्।

उपाध्यक्ष खातुनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका अध्यक्ष लगातार एक सातासम्म कार्यालयमा उपस्थित नभएमा स्वतः उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने उल्लेख गरिएपनि बहुमतको नाममा कार्यपालिकाको बैठकले वडाध्यक्ष यादवलाई कार्यवाहकको जिम्मेवारी दिएको भन्दै आपत्ती जनाइन्।

गत आईतबार बसेको कार्यपालिकाको बैठकबाट बहुमत सदस्यहरूले वडाध्यक्ष यादवलाई कार्यवाहक गाउँपालिका अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेपछि बैठकमै फरक मत राखेर विरोध जनाएको उपाध्यक्ष खातुनले बताइन्।

‘त्यो बैठकमै मैले आपत्ती जनाउदै नोट अफ डिसेन्ट लेखेकी छु, ‘स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार गाउँपालिका अध्यक्ष लगातार एक सातासम्म कार्यालयमा उपस्थित नभएमा स्वतः उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने उल्लेख गरिएको छ, तर उहाँहरूले बहुमतको नाममा कसरी वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन सक्नुहुन्छ,’ उनले भनिन्।

उपाध्यक्ष खातुनले बहुमतको नाममा उपाध्यक्षलाई छोडेर वडाध्यक्षलाई कार्यवाहक दिईनु जालसाजीपूर्ण र स्थानीय सरकार सञ्चालन ऐन विपरित भएको बताईन्। ‘ऐन र कानुनमै उल्लेख गरिएका कुरा कसरी बहुमतको नाममा परिवर्तन गर्न पाईन्छ, यो स्थानीय सरकार सञ्चालन ऐन विपरित रहेकोले मेरो गम्भिर आपत्ती छ,’ खातुनले भनिन्।

खातुनले कार्यपालिका सदस्यहरूले वडाध्यक्ष यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको भएपनि उनलाई कार्यवाहक अध्यक्षको काम गर्न ऐनले रोकेकोले अहिले गाउँपालिकाका महत्वपूर्ण काम कारवाही रोकिएको बताइन्। ‘कार्यपालिकाले वडाध्यक्षलाई कार्यवाहक दिएर कहाँ हुन्छ, कुनैपनि निर्णयमा उनको हस्ताक्षर चल्दैन उनलाई पनि कार्यपालिका सदस्यहरूले झुक्याईरहेका छन्।’ उनले भनिन्।

कार्यवाहक अध्यक्षको विषयमा विवाद उत्पन्न भएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले कार्यपालिकाले गरेको निर्णयलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको बताएका छन्। ‘कार्यपालिकाले गरेको निर्णय मन्त्रालयमा पठाइएकोले मन्त्रालयले जे निर्णय गरेर पठाउँछ गाउँपालिका अध्यक्ष उपस्थित नहुँदा सम्म सोहि अनुसार काम अगाडी बढ्ने छ,’ गौतमले भने।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँचदलिय गठबन्धनबाट माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। भागवण्डाबाट उपाध्यक्षमा भने नेपाली कांग्रेसकी फातुमा खातुन अन्सारी निर्वाचित भएकी थिइन्।

त्यस्तै, ६ जना वडाध्यक्षमा तिनजना माओवादी केन्द्र, दुईजना नेपाली कांग्रेस र एकजना लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए। त्यस्तै, कार्यपालिका सदस्यमा भने जनता समाजवादीबाट १ जना र बाँकी ६ जना माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

गठबन्धनबाट चुनाव लडि निर्वाचित भएपनि निर्वाचन पछि गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले बहुमत र अल्पमतको आधारमा निर्णय गर्न थालेको उपाध्यक्ष खातुनको भनाइ छ।

गुप्ताले आफूसँगै साझेदारीमा व्यापार गर्दैआएका भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्रामका रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई झुठो लागुऔषध मुद्दामा फसाएर व्यापारको एक करोड बढी मुनाफा हडप्ने षडयन्त्र गरेको आरोप लागेको छ।

गुप्ताले रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानसँगै मिलेर सुनवलको भुमहीमा कवाड व्यवसाय संचालन गरेका थिए। सोही कवाड बिक्रि गरेको एक करोड बढी रकम हडप्ने उद्देश्यले प्रहरीको मिलेमतोमा उनीहरूलाई योजनाबद्ध रूपमा लागूऔषध मुद्दामा फसाएको आरोपमा उनलाई पक्राउ पुर्जी जारी भएको हो।

गत असार २२ गते जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट गुप्ता र पासवानलाई पक्राउ गरेको थियो। उनीहरूसँग डाइजेपाम, फेनारगन लगायतका लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो।

प्रकाशित मिति: : 2022-09-15 16:04:00

प्रतिकृया दिनुहोस्