चोलेन्द्रलाई राेक्न सर्वोच्च अदालत परिसरमा प्रहरी परिचालन

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फर्कने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको छ। सर्वोच्च परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेकाे स्राेतले जनाएकाे छ।

गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरू राणालाई रोक्न सर्वाेच्च गेटमै धर्ना बस्ने तयारीमा छन्। सरकारले राणालाई अदालत प्रवेश गर्न नदिने भएको छ।

महाअभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामाथि महाअभियोग लगाउन सिफारिस गरिएको छ।

न्यायिक विचलन र भ्रष्टाचारको आरोप लगाउँदै ९८ सांसदले गत फागुन १ मा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता गरेपछि जबरा निलम्बित भएका थिए। प्रतिनिधिसभाले ढिलो गरी गठन गरेको महाभियोग सिफारिस समितिले उनीसँग बयान लिएर तथा सरोकारवाला कानुन व्यवसायीहरूसँग पनि छलफल गरेर शनिबार प्रतिवेदनलाई अन्तिम रूप दिएको हो।

प्रकाशित मिति: : 2022-09-18 10:21:00

प्रतिकृया दिनुहोस्