संविधान दिवसः विद्यालय बन्यो संसद भवन, विद्यार्थी बने माननीय

सधैंझै विद्यालय खुलेको छ। तर परिवेश फरक छ। असोज ३ गते संविधान दिवसको दिन घोराही–१५ स्थित गुरुकुल एकेडेमीको विद्यालय परिसर कुनै शैक्षिक संस्था नभएर संसद भवनमा परिणत भएको छ। त्यहाँ अध्ययनरत विद्यार्थीहरु प्रधानमन्त्री, मन्त्री र सांसद बनेका छन्।

संविधान दिवसको अवसरमा विद्यालयले ‘नमुना संसद’ को अभ्यास गर्‍यो । जहाँ विद्यार्थीले विद्यालयमा संसद चलाए। विद्यार्थी आफै कोही प्रधानमन्त्री, सभामुख, मन्त्री र सांसद बने। 

विद्यालयले गरेको नमुना संसद अभ्यासमा विद्यार्थी सिर्जन गैरे अर्थमन्त्री बनेर बजेट भाषणदेखि मुलुकको विकास निर्माणको नीति योजनासम्म सदनमा प्रस्तुत गरिन्। मन्त्रीहरुले पालैपालो आफ्नो वार्षिक कार्यक्रमहरु र योजनाहरु अगाडी सारे।

कृषिमन्त्रीको भूमिकामा रहेका सुलभ खनालले कृषिमा अनुदान र आधुनिककरण लगायतका योजनाहरु प्रस्तुत गरे। संसदमा विपक्ष दलका केही सांसदले सरकारले ल्याएको नीति कार्यक्रमप्रति अन्तुष्टी पनि राखे।

विद्यार्थीले संसदमा केही विधेक पेश गरे, त्यसमाथि छलफल चलाए र टेबुल बजाएर पास पनि गरे। केहीले भने विधेक संसोधन गर्नुपर्ने भन्दै सदन अवरुद्ध जस्ता गतिविधि गरे। संविधान दिवका दिन विद्यालयमा देखिएको यो दृश्यले मुलुकको संसदको झल्को दिइरहेको थियो। त्यसमा अहिले संसदमा चलेको अर्थमन्त्री प्रकरणसँगै स्वतन्त्र सांसदसम्मको अध्यास देखिन्थ्यो। 

विद्यार्थीलाई संसदीय अभ्यासबारे बुझाउने उद्देश्यले विद्यालयामा संसदीय अभ्यास गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मुुकुन्द गिरीले बताए। ‘विद्यार्थीलाई यही कुरा कक्षा सैधान्तिक रुपमा बुझाउन गाह्रो हुन्छ’ गिरीले भने, ‘तर प्रयोगात्मक रुपमा उनीहरुलाई नै सहभागी गराइयो भने सजिलै बुझाउन सकिन्छ। यसले सिकाइ प्रभावकारी हुन्छ।’ उनले नेपालको संसदीय प्रणालीको अभ्यास र महत्वबारे विद्यार्थीहरुलाई बुझाउन यसखालको गतिविधि गरिएको बताए।

गुरुकुल नमुना संसद अभ्यासमा कुल ५० जना विद्यार्थी सांसद र १२ जना मन्त्रीको भूमिका थिए। जस अनुसार प्रधानमन्त्रीको भूमिकामा प्रतिक्षा केसी, सभामुखको भूमिकामा सुभम् पोख्रेल, शिक्षा मन्त्रीको भूमिकामा रेजिना अधिकारी, उर्जा मन्त्रीको भूमिकामा स्वष्तिका ढकाल, खेलकुद मन्त्रीको भूमिकामा सुवेक्षा पौडेल र गृहमन्त्रीको भूमिकामा नविन डाँगी रहेका थिए।

प्रकाशित मिति: : 2022-09-19 17:57:00

प्रतिकृया दिनुहोस्