गण्डकीका सांसद र पदाधिकारीले बुझाएनन् गाडी र ल्यापटप

File Photo
File Photo

गण्डकी प्रदेशसभाका पदाधिकारीले संसद सचिवालयबाट लिएको गाडी र ल्यापटप फिर्ता गरेका छैनन्। निर्वाचन आयोगले असोज १ गतेदेखि नै कार्यकाल सकिएको बताएपछि उनीहरुको कार्यकाल स्वतः सकिएको छ।

तर, पदाधिकारीहरुले आफ्नो कार्यकाल अझै बाँकी रहेको दावी गर्छन्। संसद सचिवालयले पनि कार्यकाल सकिएको र सुविधा फिर्ता गर्न पत्र पठाएको छैन।

गण्डकी प्रदेशसभा सचिवालयबाट पदाधिकारीले गाडी सुविधा लिएका छन्। ६ जनाले ल्यापटप पाएका छन्। प्रमुख प्रतिपक्षी दलका नेता तथा पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङदेखि दलका संसदीय नेताहरु, प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरु कसैले पनि गाडी सचिवालयमा फिर्ता गरेका छैनन्।

गाडी सुविधा लिनेहरुमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, जनमोर्चा संसदीय दलका नेता पियारी थापा, एमाले प्रमुख सचेतक मायानाथ अधिकारी, कांग्रेस प्रमुख सचेतक ओमकला गौतम, माओवादी प्रमुख सचेतक गायत्री गुरुङ र जनता समाजवादी पार्टीका प्रमुख सचेतक धनमाया लामा छन्।

यस्तै, विधायन समिति सभापति विष्णुप्रसाद लामिछाने, सार्वजनिक लेखा समिति सभापति रोशन गाहा, अर्थ तथा विकास समिति सभापति दीपक कोइराला र प्रदेश मामिला समिति सभापति खिमविक्रम शाहीले गाडी र ल्यापटप सुविधा लिएका थिए।

आफूहरु गाडी फिर्ता गर्न गए पनि कार्यकाल नसकिएको भन्दै सचिवालयले नै गाडीको चावी लिन नमानेको विधायन समिति सभापति लामिछाने बताउँछन्।

‘म गाडी फिर्ता गर्नकै लागि असोज १ गते काठमाडौंबाट पोखरा आएको थिएँ। सचिवज्यूले अहिले फिर्ता गर्नु पर्दैन भन्नुभयो। कार्यकालबारे माथिबाट कुनै परिपत्र नआएको र अझै सुविधा प्रयोग गर्न मिल्ने भनेपछि म फर्किएको हुँ,’ उनले भने, ‘त्यो दिनदेखि मैले गाडी प्रयोग गरेको छैन। म काठमाडौं छु, गाडी पोखरामा छ।’

१४ गते संसद सचिवालयले नै सबैलाई विदाइ कार्यक्रम आयोजना गरेको र सोही दिन एकै पटक फिर्ता गर्ने तयारी भएको लामिछानेले बताए।
प्रदेशसभा सचिवालयका स्टोर प्रमुख झनक अधिकारीले भने कसैले पनि गाडी बुझाउन नआएको बताए।

‘सभामुख र सचिव ज्यूसँग भेटेर जानुभएको भए मलाई थाहा भएन। तर मसँग भेट भएको छैन,’ उनले भने, ‘गाडी फर्काउनुभएको भए त्यसको अभिलेख राख्ने मैले हो।

अहिलेसम्म कोही आएजस्तो लागेको छैन। कोही माननीय ज्यू आएर फर्किनुभएको चाहीँ सुनेको छु।’ पदाधिकारीहरुले १४ गते नै गाडी र सुविधा फिर्ता गर्ने बताएका छन्।

प्रकाशित मिति: : 2022-09-26 11:49:00

प्रतिकृया दिनुहोस्