महङ्गा भएर बेनी झरे मुस्ताङ्गी च्याङ्ग्रा

file photo
file photo

नेपालीहरुको महान् पर्व दसैँ आजदेखि सुरु भएको छ। दसैँलाई लक्षित गरेर मुस्ताङ्गी भेडाच्याङ्ग्रा पनि बेँसी झार्न सुरु गरिएको छ।

मुस्ताङ्गी भेडाच्याङ्ग्राको मूल्य बर्सेनि वृद्धि हुँदै गएपछि दसैँमा मुस्ताङ्गी च्याङ्ग्राको स्वादिलो मासु खाने रहर सर्वसाधारणको पहुँचभन्दा टाढा बन्दै गएको छ।

यस वर्ष पनि प्रशस्त मात्रामा तिब्बतबाट भेडाच्याङ्ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको भाउ विगतका वर्षको तुलनामा प्रतिगोटामै रु पाँचदेखि आठ हजारसम्मले महङ्गिएको लोमान्थाङका व्यापारी पासाङ गुरुङले जानकारी दिए।

म्याग्दीको सदरमुकाम बेनीसम्म ल्याई पु¥याउँदा एउटा च्याङ्ग्राको मूल्य रु ३५ हजारभन्दा बढी पर्ने व्यापारीहरुले बताएका छन्। मूलथलोमै महङ्गो भएपछि बजारमा च्याङ्ग्राको भाउ अझै बढ्नसक्ने उनीहरुको भनाइ छ।

गत वर्ष मुस्ताङबाट मात्रै करिब सात हजार च्याङ्ग्रा बिक्रीका लागि पठाइएकाले यस वर्ष मुस्ताङमा पनि धेरै भेडाच्याङ्ग्रा नभएकाले समस्या उत्पन्न भएको व्यापारीहरुको भनाइ छ।

गत वर्ष पनि कोभिड–१९ का कारण चीनले लामो समयदेखि नाका ठप्प बनाउँदा च्याङ्ग्रा मुस्ताङ आउन ढिला भएको एक दशकदेखि मुस्ताङमा भेडाच्याङ्ग्राको व्यवसाय गर्दै आएका गुन्जा तेन्जिङले बताए।

उनका अनुसार मुस्ताङमा पालिएका ती भेडाच्याङ्ग्राको मूल्य मुस्ताङमा नै रु ३० हजारदेखि ३९ हजारसम्म रहेको छ।

सामान्य अवस्थामा व्यापारीहरूले दसैँलाई लक्षित गर्दै तिब्बतबाट च्याङ्ग्रा ल्याउने गरेकामा विगत तीन वर्षयता तिब्बतबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै नेपालका विभिन्न सहरहरुमा जाने क्रम कम भएको हो।

सामान्य अवस्थामा मुस्ताङ र तिब्बतबीच वर्षको दुई पटक व्यापार हुने गरेकामा कोरोनाका कारण गत वर्षको व्यापार नभएको मुस्ताङका व्यापारीहरुले बताएका छन्।

हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडाच्याङ्ग्रा खोज्ने गर्छन् ।

मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी र म्याग्दीका हिमाली क्षेत्रहरुमा पालिएका भेडाको पनि माग अत्यधिक रहेको व्यापारीहरुले बताएका छन्। 
 

प्रकाशित मिति: : 2022-09-26 21:25:00

प्रतिकृया दिनुहोस्