जनार्दनको धम्कीः रुकुमेली माओवादीले कांग्रेसलाई भोट हाल्दैनन्

BreaknLinks
BreaknLinks

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सिट बाँडफाँट कार्यदल समितिका सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले गृहजिल्लामा गठबन्धन तोड्न खोजेकाे आराेप खेपिरहेका छन्।

सत्ता गठबन्धनको मर्मविपरीत रुकुम पश्चिमको एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभामा माओवादीकै उम्मेदवार हुनुपर्ने नेता शर्माको अडान छ। माओवादीका शीर्ष नेतामार्फत् रुकुम पश्चिममा नेपाली कांग्रेसलाई गठबन्धन बाहिर राख्न खोजेपछि कांग्रेसका नेता–कार्यकर्ता असन्तुष्ट बनेका छन्।

गत स्थानीय तहको निर्वाचनमा ‘कांग्रेस–एमाले’को गठबन्धनबाट दुईवटा स्थानीय तह गुमाएका उनी कांग्रेसप्रति नरम देखिएका छैनन्। कार्यदलको बैठकमा नेता शर्माले ‘रुकुमेली माओवादीले कांग्रेसलाई भोट हाल्न नसक्ने सन्देश दिएको’ बताएका छन्।

‘मैले यहाँ भन्नैपर्छ रुकुम पश्चिमका माओवादी कार्यकताहरू कांग्रेसप्रति खुसी छैनन्। स्थानीय तह निर्वाचनको धोका सम्झिरहेका छन्। कुनैपनि सिट बाँड्न तयार छैनन्। मेरो अनुरोध छ, तीनवटै सिट माओवादीलाई दिइयोस्,’ समितिकाे बैठकमा उनले भनेका छन्।

माओवादी प्रभाव क्षेत्र जाजरकोट, सल्यान र रुकुम पूर्वको प्रदेशसभा कांग्रेसलाई छोड्न तयार भएका शर्मा रुकुम पश्चिमको तीनै सिट आफ्नो काबुमा राख्ने दाउमा छन्। उनी कार्यदलको बैठकमा रुकुमेली कांग्रेसप्रति उदार देखिएका छैनन्। उता सिट बाँडफाँट समितिका सदस्य तथा माओवादी नेता वर्षमान पुनले जनार्दनको ‘उग्र दाबी’लाई गलत ठानेका छन्।

देशभर बाम–लोकतान्त्रिक गठबन्धन भएपनि रुकुम पश्चिममा माओवादी केन्द्रलाई कसैको सहारा नचाहिने माओवादी केन्द्र रुकुम पश्चिमका एक पदाधिकारी बताउँछन्।

‘हामी कांग्रेसलाई भोट हाल्दैनौँ। हाम्रा क्रान्तिकारी हातहरूले हँसिया–हथौडामा मात्रै भोट खसाल्छन्,’ उनले भने, ‘प्रचण्ड र देउवा मिलेपनि हामी रुकुमका कांग्रेससँग मिल्दैनौँ। कांग्रेसभन्दा पाँच गुणा बढी हाम्रा कार्यकर्ता छन्।’

त्यसो त नेपाली कांग्रेस रुकुम पश्चिमले सत्ता गठबन्धन हुँदा एउटा प्रदेशसभा सदस्य पदको उम्मेदवार पाउनुपर्ने दाबी गरेको छ। नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश वलीले प्रदेशसभा ‘ख’ आफूहरूले पाउनुपर्ने बताएका छन्।

सिट बाँडफाँट कार्यदल समितिको बैठकमा उपमहासचिव शर्माले गृहजिल्लाबारे फरक मत राखेपछि माओवादीका जिल्ला संयोजक गोविन्द रोकाले यसअघि जितेका क्षेत्रहरू यथावत राखी अन्य क्षेत्रमा मात्र भागबण्डा मिलाउन अपील गरेका छन्।

‘यसअघि निर्धारण गरिएको मापदण्डअनुसार नै सिट बाँडफाँटसम्बन्धी निर्णय गर्न माओवादी केन्द्र रुकुम पश्चिम जोडदार माग गर्दछ,’ उनले एक विज्ञप्तिमार्फत भनेका छन्, ‘अन्यथा भएमा रुकुम पश्चिममा त्यसको परिणाम अनपेक्षित हुनसक्नेतर्फ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।’

कार्यदलको बैठकमा रुकुम कांग्रेसप्रति आक्रोशित बनेका जनार्दन शर्मालाई कांग्रेस रुकुम पश्चिमका एक पदाधिकारीले ‘यस्तै रबैया प्रदर्शन गरे एमालेसँग मिलेर हराएर देखाइदिने’ चेतावनी दिएका छन्।


माओवादीभित्र ‘स्पेस’को लडाइँमा जनार्दन–वर्षमान: प्रचण्डका दुई किनारा

वर्षमानविरूद्ध एमालेले अघि सार्‍याे पूर्वबटालियन कमाण्डर

पश्चिम नेपालले आफ्नाे पहुँच मानेका नेता बस्नेत

पुन भर्सेस पुनः माओवादीभित्रै खोजियो वर्षमानको विकल्प

सकस छैन रोल्पामा, भागवण्डा मिलाउँदै ‘पुन ब्रदर्श’

जनार्दनलाई वहिर्गमन गराएर वर्षमानले जितेको ‘सेकेण्ड इनिङ’

माओवादी पदाधिकारीमा एमसीसीविरोधीको बर्चश्व: दबाबमा प्रचण्ड

प्रकाशित मिति: : 2022-09-30 19:11:00

प्रतिकृया दिनुहोस्

    पद मात्रै चाहिएको हो माओवादी नेतालाई ??

    • एक बर्ष अगाडि
    • bhimsen dangi