मनाङमा हिमपात, पर्यटकलाई उच्च सर्तकता अपनाउन मनाङ प्रशासनको आग्रह

file photo
file photo

हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ। जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार विहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन्।

मंगलबार रातिदेखि परेको अविरल बर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको बताएका छन्। मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको बर्षाले हिउँ पर्न थालेको छ। चिसो बढेको छ। हिउँले डाँडाकाँडा सेताम्मे भएको छ। पानी पनि परिरहेको छ। 

मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा हिउँ परेको छ। माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ। 

मनाङमा सन् २०१४ को अक्टोबर २० मा परेको थियो। त्यसपछि अक्टोबर २० भन्दा अघि हिउँ परेको थिएन। यसबर्ष भने अक्टोबर ६ मै हिउँ परेको हो। हिउँ पर्न थालेपछि चिसो बढेको स्थानीयले बताएका छन्। हिउँले वस्ती माथिका डाँडाहरु सेताम्मे भएको छ। 

हिमपातका कारण बिजुली बन्द छ। इन्टरनेट प्रभावित छ। मोबाइल नेटवर्कमा पनि समस्या भएको स्थानीयले बताएका छन्  मनाङमा गतबर्ष मंसिर १६ गतेबाट हिउँ पर्न सुरु भएको थियो। यसबर्ष २ महिना अघि देखि नै हिमपात भएको हो। 

मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार केही दिनदेखि लगातार भइरहेको मनसुनी प्रभावका कारण भारी बर्षा भएको थियो। बर्षापछि नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकालगायतको उच्च भूभागमा हिमपात भएको छ।  

उनका अनुसार निरन्तर हिमपात भइरहेकाले नागरिकलाई सचेत रहन भनिएको छ। हिमपात बढ्न सक्ने भएकाले घरभित्रै बस्न, न्यानो कपडा लगाउन, आगो तापेर बस्न अनुरोध गरिएको छ।

प्रकाशित मिति: : 2022-10-06 15:13:00

प्रतिकृया दिनुहोस्