नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर

File photo
File photo

नक्कली प्रमाणपत्र पेश गरी जागीर खाएको भन्दै कैलालीको भजनी नगरपालिकास्थित राष्ट्रिय माविमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

भजनी नगरपालिका–४ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडमा कार्यरत शिक्षक मथुरा चौधरीमाथि नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार शिक्षक चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो।

सो निवेदनमाथि अनुसन्धान हुँदा चौधरीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको लाभ लिएको पुष्टि भएपछि आइतबार उनीविरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ।

नक्कली प्रमाणपत्र पेश गर्ने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर ठहरिने छ। सो आचधारमा शिक्षक चौधरी बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रबक्ता भण्डारीले बताए।

प्रकाशित मिति: : 2022-12-04 18:22:00

प्रतिकृया दिनुहोस्