जुम्लामा जहाज बसाल्न धावन मार्गकाे हिउँ पञ्छाइयाे

जुम्लामा दुई दिनदेखि लगातार परेकाे हिमपातले यातायात सेवा ठप्प छ। धावन मार्गमा हिउँ जमेपछि जहाज बस्न सकिरहेका छैनन्।

नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठका अनुसार मंगलवार र वुधवार निरन्तर हिउँ जमेकाले हवाई सेवा ठप्प भएको हो।

'आज भने मौसम राम्रो भएपनि धावन मार्गमा हिउँ जमेकाले जहाज अवतरण हुन सकिरहेको छैन,' उनले भने, 'मौसम राम्रो भएकाले नेपालगञ्जदेखि जहाज आउन तयारी अवस्थामा छन् तर धावन मार्गमा हिउँ जमेकाले पन्छाउन लागिएकाे हाे।

धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरीले धावन मार्गमा हिउँ फाल्ने काम सुरु गरेको नन्दबक्स गणका गणपति रविन थापाले बताए।

यातायात ठप्प हुँदा तीन दिनदेखि यात्रुहरु आफ्नाे गन्तव्य स्थलमा पुग्न सकेका छैनन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहीबार ४ वटा उडान हुने तयारी छ।

गणपति थापाका अनुसार हिउँ कम भएपनि जमेर कठिन भएकाले जहाज चिप्लने डरले बिहान ७ बजेबाट खुलाउन सुरु गरिएको छ।

प्रकाशित मिति: : 2023-01-26 11:52:00

प्रतिकृया दिनुहोस्