पर्यटन मन्त्रालयकाे दानपेटीमा ६ लाख संकलन, मन्त्री किरातीले पनि एक महिनाकाे सुविधा थपिदिए

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बधाई तथा शुभकामना दिने आउनेहरुसँग ‘फूल/मालाकाे सट्टा शैक्षिक विकासकाे लागि दान’काे अपिल अभियानमा ६ लाख बढी रकम संकलन भएकाे छ।

मन्त्री किरातीले मन्त्रीमा नियुक्ति भएपछि आफूलाई बधाई तथा शुभकामना दिन आउनेलाई फूल/माल नल्याउने आग्रहसहित त्यसकाे साटाे शैक्षिक विकासकाे लागि रकम दान गरिदिन आग्रह गरेका थिए। साेही आग्रहपछि पर्यटन मन्त्रीकाे कुर्सीअगाडि राखिएकाे सिसाकाे दानपेटीमा सात दिनमा ६ लाख ४ सय ३४ रुपैयाँ संकलन भएकाे छ।

उक्त संकलित रकममा आफ्नाे एक महिना र सचिवालयकाे १५ दिनकाे सेवा सुविधासमेत थपिएकाे मन्त्री किरातीले जानकारी गराएका छन्।

‘सात दिनमा दान पेटिकामा संकलित रकम, मेरो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत यसैमा जोडेर जम्मा रू. ६ लाख ४ सय ३४ भएको जानकारी गराइन्छ। उक्त सुन्दर अभियानमा सहभागी सबैमा धन्यवाद व्यक्त गर्दछौँ,’ मन्त्री किरातीकाे फेसबुकमा भनिएकाे छ। याे अभियान माघ १३ बाटै बन्द गरिएकाे जनाइएकाे छ।

संकलन भएकाे उक्त रकम दुर्गम क्षेत्रकाे विद्यालयमा अक्षयकाेष स्थापना गरी उपयाेग गरिने छ। मन्त्री किरातीले याे अभियान शैक्षिक विकासकाे एक पाइला भएकाे बताएका छन्।

उक्त रकम कुन ठाउँकाे, कुन विद्यालयलाई हस्तान्तरण गर्ने भन्नेबारे छिट्टै सार्वजनिक गरिने उनले बताएका छन्।

प्रकाशित मिति: : 2023-01-28 09:15:00

प्रतिकृया दिनुहोस्