राजाको स्थानमा ठुला दलका नेताहरू बसेर जनताको शोषण गरिरहेका छन्: प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले राजाको स्थानमा अहिले ठुला दलका नेताहरू बसेर जनताको शोषण गरिरहेको कारण देशको अवस्था दयनीय बनेको टिप्पणी गरेका छन्।

'विगतमा राजा हटाउन कम्युनिस्ट र कांग्रेस नेताहरू एक ठाउँमा  भएर जनताको साथमा थिए तर अहिले अवस्था बदलिएको छ, नेताहरु नै शासक बनेका छन्', उनले भने।

गृह जिल्ला रौतहटको देवाही गोनाही नगरपालिका-२ लक्ष्मीनियास्थित विद्यालय भवनको शिलान्यास तथा स्वास्थ्य कार्यालय भवनको उद्घाटनपछि आयोजित सभामा नेता साहले अहिले राजाको कुर्सीमा ठुला दलका नेताहरू विराजमान भएकाले नेपाली जनता उपेक्षित भएको बताए।

'सतामा बसेर ठुलो लुट मचाएर नेताहरू ठुलो झुन्डको सरदार बनेको छ', अध्यक्ष साहले भने, 'ठुला पार्टीका कार्यकर्ता पाल्न देशको ढुकुटी रितिंदै गएको छ। जुनै सरकार फेरिएपनी यो हाम्रो सरकार हो भनेर जनतालाई अनुभुती हुनसकेको छैन, जनता मालिक नभएसम्म परिवर्तनको कुनै औचित्य हुँदैन।'

देशमा संघीय गणतन्त्र नामको लागिमात्र रहेको र नेताहरूले देश लुटिरहेको अध्यक्ष साहले आरोप लगाएका छन्। 'देशमा तीन थरिको सरकार छ। हजारौं सरकारी कार्यालय छन्, आर्थिक अभावमा व्यापारी किसान आत्महत्या गरेर मरिरहेका छन् तर खोइ कसले हेरेको छ जनताको पीडा? १० प्रतिशत सम्झौता गरेर बैंकहरुले आफूखुसी रातारात ब्याज दोब्बर बनाउँछन् कसले हेरेको छ?', पूर्वमन्त्री प्रभु साहले प्रश्न गरेका छन्।

'आफ्नो सम्पत्ति धितो राख्दा पनि देशमा कर्जा पाउन मुस्किल छ, किसानलाई सुविधा छैन तर बिचौलियाको राज छ यहि हो परिवर्तन? जबसम्म देशमा राजनीतिक व्यवस्था सही हुँदैन यस्तै अवस्था रहन्छ', उनले ठोकुवा गरे।

प्रकाशित मिति: : 2023-01-28 13:03:00

प्रतिकृया दिनुहोस्