कांग्रेस दिशाहीन अवस्थामा रहनु दुखद: एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस दिशाहीन अवस्थामा रहेको बताएका छन्।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले नेपाली लोकतान्त्रिक आन्दोलनको पुरानो पार्टी यस प्रकारको अवस्थामा रहनु अत्यन्तै दुखद भएको बताए।

कांग्रेस अहिलेको वर्तमान स्थितिमा न सत्ता पक्षा न प्रतिपक्षको भूमिकामा रहेको टिप्पणी गर्दै उनले भने, ‘कांग्रेस अहिले न सत्ता पक्ष न प्रतिपक्ष भएको छ, पहिला त कांग्रेस आफैँ सच्चिन जरुरी छ।’

पोखरेलले कांग्रेसले राज्यका प्रमुख पदहरुमा दावी गर्नुको कुनै अर्थ नरहने बताए। सत्ता गठबन्धनको सहमति अनुसार एमालेले सिफारिस गरेकै व्यक्ति राष्ट्रपति बन्ने उनको भनाई छ।

प्रतिपक्ष हुँ भन्दै सत्ताको अंश खोज्ने कांग्रेसको कुरा उचित नरहेको बताउँदै उनले भने, ‘कि त आफूलाई सत्तापक्षका रुपमा घोषणा गर्न सक्नुपर्छ, होइन भने सत्तापक्षले उठाएको उम्मेदवारलाई समर्थन गर्नुपर्छ।’

रवि लामिछानेको नागरिकता प्रकरणमा न्यायलयको भूमिका निष्पक्ष नभएको पोखरेलले बताए। ‘न्यायलय भनेको निष्पक्ष हुनुपर्छ, निष्पक्ष देखिनुपर्छ’, उनले भने, ‘न्यायालयले आफ्नो भूमिका निष्पक्ष भएको प्रमाणित गर्नुपर्छ।’

प्रकाशित मिति: : 2023-01-30 15:54:00

प्रतिकृया दिनुहोस्