पाठेघर खसेका ३२ महिलाको निःशुल्क उपचार गरिदिने हलेसी तुवाचुङको तयारी

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरिदिने तयारी गरेको छ।

घर–घरमा स्वास्थ्यकर्मी खटाएर गरिएको स्वास्थ्य परिक्षणका क्रममा पहिचान भएका पाठेघर खसेका ३२ जना महिलाको निःशुल्क उपचारको तयारी गरेको हो। 

पाठेघर खसेका महिलाको पहिचानका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाएको नगरपालिकाले पहिचान भएका पाठेघर खसेका महिलालाई बनेपा लगेर उपचार गर्ने प्रवन्ध मिलाइएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताए। पाठेघर खसेका महिलाको शल्यक्रिया खर्च र उनीहरुको कुरुवालाई लाग्ने खर्च नगरपालिकाले ब्यहोर्ने जनाएको छ। पाठेघर खस्ने समस्याका कारण दर्दनाक दिनचर्य विताइरहेका महिलाको पहिचान गर्दै उपचार व्यवस्थाका लागि नगरपालिकाले गत माघ १ गतेदेखि माघ ९ गतेसम्म घर–घरमा स्वास्थ्यकर्मी पठाएको थियो। 

घर–घरमा पुगेर २२५ महिलाको पाठेघरको परीक्षण तथा उपचार गर्दा ३२ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्था पत्ता लागेको हो। नगरपालिकाको ११ वडामध्ये बाहुनीडाँडा, बडहरे, मंगलटार बाहेक अन्य वडामा पाठेघर खस्ने समस्या पहिचान भएको हो। डिकुवामा २ जना, च्यास्मिटारमा ५ जना, दुर्छिममा ९ जना, महादेवस्थानमा ५ जना, धितुङमा २ जना, सल्लेमा २ जना, अर्खौलेमा ४ जना र राजापानीमा ३ जना महिलाको पाठेघरको शल्यक्रीया गर्नुपर्ने देखिएको नगरपालिकाले जनाएको छ। 

परीक्षण गरिएकामध्ये १०६ जनाको पाठेघरमा रिङ प्रेरी राखिएको छ। यस्तै, १०४ जना महिलाको पाठेघर सम्बन्धी संक्रामक रोगको उपचार गरिएको छ। पाठेघरको समस्या सुरु भएका महिलालाई आवश्यकता अनुसार औषधि वितरण र परामर्श प्रदान गरिएको स्वास्थ्य संयोजक घिमिरेले बताए। पाठेघरको समस्या भएका कतिपय महिला लाज मानेर स्वास्थ्य संस्था वा स्वास्थ्य शिबिरसम्म जान हिच्किचाउने गरेको पाइएपछि नगरपालिकाले स्वास्थ्यकर्मीलाई घर–घरसम्मै पठाएको थियो। पाठेघर झरेर पहिलो र दोश्रो स्टेजमा पुगेका महिलाको उपचारका लागि रिङप्रेसरी राख्ने, घाउ उपचारका लागि औषधि प्रदान गर्ने र तेश्रो र चौथो स्टेजमा पाठेघर खसेका महिलाको तथ्यांक संकलन गरेर उपचारको प्रवन्ध गर्न लागिएको हो। 

अघिल्लो वर्ष पनि नगरपालिकाले बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मंगलटारमा पाठेघर खस्ने समस्याको उपचार शिबिर सञ्चालन गरेको थियो। तर शिबिरमा पाठेघर खसेका महिलाको अपेक्षित उपस्थिति नरहेपछि घर–घरमा सहयोगी सहितको स्वास्थ्यकर्मी परिचालन गरिएको मेयर बिमला राईले बताईन्। गत शिबिरमा स्वास्थ्यकर्मीले खिचेको आङ सिरिङ पार्ने पाठेघर खसेको तस्विर देखेपछि स्वयं मेयर राईले पाठेघर खसेका महिलाको उपचारका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाउने निर्णय गराएकी थिइन्। 

प्रकाशित मिति: : 2023-01-31 18:43:00

प्रतिकृया दिनुहोस्