लागूऔषध कारोबारमा प्रहरीको संलग्नता, विराटनगरबाट सहायक हवल्दार पक्राउ

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

विराटनगरमा लागूऔषधको कारोबारमा प्रहरीकै संलग्नता भएको पाइएको छ। बुधबार ब्राउन सुगर (खैरो हेरोइन) कारोबारमा संलग्न भएको आरोपमा नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन्।   

प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ३१ वर्षीय अमरनाथ यादव पक्राउ परेका हुन्। भारतबाट खैरो हेरोइन नेपाल ल्याउन उनले भरियाको प्रयोग गरेको आरोप छ। 

प्रहरीले खैरो हेरोइनसहित विराटनगर–१५ का २० वर्षीय नजाम खान पक्राउ परेपछि प्रहरीको संलग्नता भएको खुलेको थियोे। खानको साथबाट प्रहरीले १ सय २० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियोे। 

खान पक्राउ परेपछि प्रहरीले उनलाई सोधपुछ गर्दा प्रहरी सहायक हवल्दारले आफूलाई भरियाका रुपमा प्रयोग गरेको बताएका थिए। 

यादवको संलग्नता भएको पाएपछि लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले मंगलबार विराटनगर–१३ स्थिति झमेली चोकबाट उनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

उनीहरू विरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन तयारी गरिएको छ।

प्रकाशित मिति: : 2023-02-01 19:01:00

प्रतिकृया दिनुहोस्