वाह ताङतिङ!

नेपाल भ्रमण वर्ष २०२०

वाह ताङतिङ!

बिहान साढे ६ बजेसम्म पनि पुसको जाडोमा ओछ्यान छोड्न मन लागेकै थिएन। झ्याल खोलेर यसो बाहिर हेरेको आँखै अगाडि टलक्क टल्किरहेको हिमालले पर्दा लगाइरहेको रहेछ। मनमा खुसीको झन्कार तरङ्गित भईरहेको थियो।

कास्कीको मादी गाउँपालिका- २ मा रहेको पुरानो गुरूङ बस्ती ताङतिङको कुरा हो। पुसको पहिलो साता हामी ताङतिङ पुगेका थियौ।

काठमाडौंबाट पोखराहुँदै ताङतिङ पुगेका थियौ। पोखराको काउखोलाबाट एउटा गाडी रिजर्ब गरेर हामी २१ कि.मि टाढा रहेको ताङतिङ जान तम्सियौं।

केही समयको यात्रापछि बिजयपुर खोलाको यात्राले झन उत्साहित बनाईरहेको थियो। खोलाको बिच बाटोहुँदै हामीलाई पछि छोड्दै १५ -२० वटा भिआर बाइक अगाडि बढिरहेका थिए। उक्त बाईकको यात्रा हेर्दै लोभलाग्दो थियो। सायद उनीहरू पनि ताङतिङ तिरै हिँडेका थिए होलान्।

उकालो र भिरालो बाटो हुँदै पहाडी गाउँ बस्ति नियाल्दै हाम्रो गाडी १६ किमि यात्रा तय पछि रोकियो। जहाबाट उत्तर तिर हेर्दा मनमोहक हिमालले हामीलाई मुस्कुराएर स्वागत गरिरहेको थियो।

हामी ताङतिङ पुग्दा झमक्कै साँझ परेको थियो। हाम्रो स्वागतका लागि स्थानीय हिमालय माविका प्रधानाध्याप प्रकाश गुरूङ सरले चाँजोपाँचो मिलाउनु भएको रहेछ।

ताङतिङ होलिडे एण्ड होमस्टेको सामुदायीक भवनको आँगनमा पुग्दा आमा समूह फूल माला लिएर हाम्रो स्वागतका लागि पर्खिरहनुभएको रहेछ।

आमा समूहले फूल माला लगाएर गरेको आत्मीय स्वागतले हाम्रो दिनभरको थकान सबै हराइसकेको थियो।

केही समयको विश्राम पछि गुरूङसेनी दिदीहरूले पकाएको कोदोको रोटी खायौं। माया मिसाएर पकाएको उक्त रोटी एकदमै मिठो थियो। पुसको चिसोमा आगो ताप्दै हामी रोटी खान थाल्यौ।

स्थानीय लोकल कुखुराको बारबिक्यूसँग झ्याईखट्टे (घ्यु र चामल झानेर बनाएको लोकल रक्सी) खान पाएपछि साथीहरू सबै दङ्ग परेर रमाइरहेका थिए।

केही समय पछि करिब साढे ८ बजे तिर आमा समूहको सांस्कृतिक प्रस्तुति रहेछ।

हामी पाहुनालाई आगोसँगै व्यबस्थित गरि आमा समूह एकापट्टि गलैचा ओच्छाएर पलेटि कसेर गीत गाउन सुरू गर्नुभयो।

हाम्रो टोलीका साथीहरू दिल खोलेर ओठभरि मुस्कान छाड्दै मनदेखि रमाउँदै भन्दै थिए- वाह! ताङतिङ।

झ्याईखुट्टेले हो, या अन्नपूर्ण, लमजुङ र बुद्ध हिमालको चिसो सिरेटोले हाम्रो हेमन्त चलाउने भाइ कम्मर मर्काई-मर्काई गुरूङसेनी आमाको गीतमा नाच्न सुरू गरे।

त्यसपछि वातावरण झनै रमाईलो भयो। आमा समूहका सदस्यहरू पालै-पालो उठेर नाँच्न थाले हाम्रा साथीहरूले पनि उहाँहरूलाई भरपुर साथ दिए।

आमा समूहको घाँटु र सोराठीले राति छिप्पिएको थाहै भएन। उहाँहरूसँग रमाउँदा रमाउँदै रातको ११ बजिसकेछ।

अन्तिममा आमा समूहका २ जना आमाहरूले हामीलाई टिका लगाएर आशिष दिनुभयो।

आमाहरूको आशिष, माया अनि विभिन्न गुरूङ भाकाको नृत्यले माहौल झनै रमाइलो बनाइदियो। यो सँगै ताङतिङसँग दरिलो आत्मीयता गासियो।

ताङतिङका स्थानीय गुरूङसेनी आमाको माया र स्वागतबारे यहाँ वर्णन गर्नु सायदै गाह्रो होला।

भोलिपल्ट बिहानै उठेर घरको आँगनमा पुग्दा आँखै अगाडि टल्किरहेको अन्नपूर्ण, लमजुङजस्ता हिमालले मन्त्रमुग्ध पारिदियो।

सबै टोली आँगनमा जम्मा भयौं र फोटोसेसन सुरू भयो। हिमाल अगाडि बसेर सबै जना दङ्ग थिए। सबैको मन उमङ्गले भरिएको थियो।

केही समयपछि स्थानीय गहुँको पिठोको रोटी र चिया पिउँदै हिमालको दृश्य सँगै पारीपट्टीको सिग्लेक्स बस्ति अवलोकन गर्न थाल्यो।

त्यसपछि हामी ताङतिङ बस्ती घुम्न निस्कियौ।

अहो! हिमालको काखमा रहेको ताङतिङ बस्ती। ढुंगाको छाना, ढुंगाकै गारो र ढुंगा नै छापिएका आँगन। चिरिच्याँट्ट घरहरू। ताङतिङमा ढिकीमा खाद्यान्न कुटेको, जाँतोमा दाल र मकै पिसेको, चर्खामा धागो कातेको, घट्टमा अन्न पिसेको, मान्द्रो बुनेको र गोठमा दूध दुहेका दृश्य सामान्य रहेछन् तर यी सबै हाम्रा लागि नौला र रोमाञ्चक लाग्यो।

गाउँमा घुम्दा आमा दिदीबहिनीहरू राडीपाखी, बुनिरहेको चर्खामा ऊन कातिरहेको, बुबा दाजुभाइ भोटो र कछाडमा डोको नाम्लो बुनिरहेको भेटियो।

शहरमा हुर्केका र हुर्किंदै गरेका हाम्रा केही साथीलाई गाउँको जीवनशैली नौलो लाग्नु स्वभाविक हो।

ताङतिङ गाउँमा २०० घर रहेछन्। गुरूङ संस्कृतिको जिवन्त शैली अध्ययन, अनुसन्धान, अवलोकन गर्नलाई ताङतिङ ज्यादै राम्रो छ। गाउँको बिच बिचमा सफा गोरेटो बाटो छ जहाँबाट टोल टोलमा पुगि गाउँ मज्जाले घुम्न सकिन्छ।

ताङतिङ गाउँ हिउँ पहिरो हेर्नलाई अति उपयोगी ठाउँ हो। गाउँ पारी नजिकै रहेको अन्नपूर्ण हिमाल र लमजुङ हिमालहरु आँखैमा, मनैमा सदा रहने गरी मज्जाले हेर्न पाइन्छ।

ताङतिङ गाउँको मुनि अन्नपूर्ण, लमजुङ हिमालबाट बगेको हिमनदी मादीको कलकल, छलछल गाउँ नजिकै रहेको डाँडा काँडाहरु, बनमा मृगहरुको आवाज, कालिज अनि चराचुरुङ्गीको चिरविर, बेलुका अध्यारो बढदै जाँदा गाउँमा बज्ने मादलको घिन्ताङ घिन्ताङले गाउँलाई अति रमणीय बनाउँछ।

ताङतिङ गाउँमा घुम्नलाई गाउँको पुच्छारमा नौचु पैंगी लामा महायान बौद्ध गुम्बा छ । गाउँको माथी क्वोइबा छ। गाउँको माथी हाइकिङ गर्नलाई करिब ४० मिनेट उकालो चढेपछि नौचु डाँडा भ्यु पोइन्ट पुगिन्छ जहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल र पोखराको आसपास मज्जाले हेर्न पाइन्छ।

यस्तै प्रकारले गाउँ माथि फुलोम्रो, काऊचो, बाजे बैकु, काऊ न्य क्षेत्रबाट पनि दृष्याअवलोकन गर्न सकिन्छ। नजिकैको घट्टेखोलामा गई छहरा तथा खोलामा रमाइलो गर्न सकिन्छ।

छोटो समयका लागि हामी त्यहाँ गएकाले प्रकाश सरको गुरूङ हिल अर्तात कुर्बु डाँडा चढ्ने अनुरोधलाई हामीले पछि सार्‍यौ।  

दुई रातको समय निकालेर जान पाएको भए ताङतिङमा झन रमाईलो हुनेरहेछ।

ताङतिङ सेरोफेरोमा सिक्लेस र याङ्जाकोट गाउँ छन्। ती पनि घुम्नलायक छन्। ताङतिङमा दुई रात बस्नेगरी यात्रा योजना बनाएमा एक दिन नजिकैका रमणीय डाँडामा हाइकिङ गर्ने समय हुन्छ। फर्कंदा गाउँबाट मह, भांग्रा, गेडागुडी र सागसब्जी कोसेली ल्याउन पाइने प्रकाश सरले जानकारी दिनुभयो।

ताङतिङमा खाना र बासका लागि राम्रो होमस्टे एवं होटल सुविधा रहेछ। गुरुङका १४ घरमा होमस्टे हुनुका साथै ५ वटा होटल पनि छन्। सामान्यतः  हजार रुपैयाँमा डिनर, बेड, ब्रेकफास्ट र लन्च पाइन्छ। पाहुनालाई उनीहरू गाउँमै उत्पादित खाद्यान्नबाट तयार भएका खानेकुरा खुवाउँदा रहेछन्। होमस्टेबाट संकलित रकम गाउँकै विकासमा खर्च हुनेरहेछ।

होमस्टेमा जाँदा पहिल्यै खबर गरेर घाम नडुब्दै गाउँमा पुग्यो भने पाहुनाको स्वागत गर्न र खाना बनाउन सजिलो हुने प्रकाश सरले जानकारी दिनुभयो।

हिमालसँग आँखा जुझाउँदै बसेको ताङतिङ तपाईकै पर्खाइमा छ। तपाईलाई साच्चीकै मोहनी लगाउनेछ। वाह ताङतिङ

कसरी पुग्ने:

काठमाडौं–पोखरा २०० किमि, बसमा ६ घन्टा। अथवा काठमाडौं–पोखरा २५ मिनेट हवाईयात्रा। पोखरा–ताङतिङ २१ किमि। पोखराको काहुँखोलाबाट ताङतिङ जाने बस र जीप पाइन्छ। मोटर बाइक पनि गाउँसम्मै पुग्छ। काहुँखोलाबाट बिहान ८ र अपरान्ह ४ बजे बस छुट्छन्। रिजर्भमा जिप र बस जतिखेर पनि पाइन्छ। लोकल गाडीले प्रतिव्यक्ति ४०० रूपैयाँ भाडा लिन्छन्।

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति: Jan 05, 2020 21:24:19

प्रतिक्रिया दिनुहोस

को उच्च को नीच ?
  • अनलाइनखबर
सबै