लिच्छविकालीन पचली भैरव जात्रा सम्पन्न {भिडियो/ तस्वीर}

कोरोना महामारीकाबीच लिच्छविकालीनदेखि चल्दै आएको पचली भैरवकाे जात्रा सम्पन्न भएको छ। 

कोरोना संक्रमणलाई फैलन नदिनेगरी सुरक्षा सावधानीका साथ बुधबार जात्रा सम्पन्न भएको हो।

टेकुस्थित पचली भैरवको मन्दिरबाट श्री पचली भैरव (तेप आजु द्य) को मूर्तिलाई खटमा राखेर टेकुबाट नगर परिक्रमा गर्दै वसन्तपुरस्थित हनुमानढोका पुर्‍याएपछि जात्रा सम्पन्न भएकाे हाे। जात्रामा सिमित ग्रुजुपल्टनका ब्यक्तिहरुको सहभागिता थियो। 

पचल भैरवसँगै रुद्रविनायक र अजिमाको समेत जात्रामा हुने गर्दछ। पचली भैरवलाई टेकु, लगन, ज्याः बहाल, जोशीदेग, मजिपात हुँदै वसन्तपुरस्थित हनुमानढोकामा पुर्‍याइएकाे थियाे। 

त्यहाँ पचली भैरवलाई उनकी छोरी जीवित देवी कुमारीसँग भेट गराइन्छ। हनुमानढोका पुर्‍याइएपछि कुमारी र पचली भैरवलाई एकअर्काका आमनेसामने राखेर आँखा जुधाइन्छ। त्यसलाई स्थानीय भाषामा (दृष्टि चुलाकेगु) भनिन्छ। 

नेवार समुदायले यस दिनलाई पचिमह्रका रुपमा मनाउने गर्छन्। हनुमानढोकाबाट पचली भैरवलाई ब्रहमटोलमा रहेको श्वेत भैरव कहाँ लगेर तीन पटक परिक्रमा गराइएकाे थियाे। 

त्यसपछि दलाछिःमा रहेको पालाको घरमा लगी मूर्ति प्रतिस्थापन गरिन्छ। १२ वर्षसम्म पचली भैरवको मूर्तिलाई पुजारी गुठीका १२ जनाको घरमा पालैपालो राखिने गरिन्छ।

धार्मिक मान्यता अनुसार भैरव राष्ट्रका रक्षक हुन्। त्यसैले भैरवलाई देशको रक्षाका लागि क्षेत्रपालको रूपमा राखिने परम्परा छ।

लिच्छविकालीन राजा गुणकाम देवले पनि कान्तिपुर नगर बसाउँदा राष्ट्रको रक्षाको लागि अष्टमातृकासँगै नगरको दक्षिण भेगमा क्षेत्रपालको रूपमा पचली आजुलाई स्थापना गरेको वंशावलीमा उल्लेख छ।

तस्वीरहरु: शनि शाक्य/बिएल नेपाली सेवा

प्रकाशित मिति: : 2020-10-21 18:37:00

प्रतिकृया दिनुहोस्