तिमी एक्लो छैनौ…

राहुल भट्टराई

हुआहिन, थाइल्यान्ड
Break n Links
Break n Links

मेरो मस्तिष्कबाट फुटबलको क्रेज डिलिट भएको करिब १० वर्ष नाघ्यो। फुटबलप्रति म निकै आकर्षित थिएँ। अतितको परिवेश र रुचिहरूको आकस्मिक मिलन थियो त्यो सायद।

फुटबल प्रेमीहरू एककट्ठा हुन्थ्यौँ ठुलठूला म्याच खेलिने रात। म्याच हेर्न कै लागि राति अनिँदो बस्थ्यौँ। कसैको काेठामा होस् वा कुनै मनपर्दो रेस्टुराँमा, साथीभाइहरूको जमघट भइछाडथ्यो। मन मिल्ने साथीहरूको आगमन हुन्थ्यो। अनि उत्साह अझै चुलिन्थ्यो।

बियरका बाेतलहरू प्वाट्टप्वाट्ट खोलिन्थे। नशा झम्म चड्थ्यो, उता खेलाडीहरू तँछाडमछाड गर्थे। यता हामी रेफ्रीलाई रातो कार्ड देखाउन दबाव दिन्थ्यौँ। मानौँ उनीहरू हैन हामी स्वयम् मैदानमा छौँ। डेबिड बेक्खमले हैन फ्री-किक मैले लिँदैछु। ओवेनले हैन गोल मैले गर्दैछु।

सन् २००० अर्थात् दोस्रो मिलेनियमको अन्तिम वर्ष। दुई सदीको सङ्गम भएको कालखण्ड। म भर्खरै २०औं बसन्तमा टेक्दै थिएँ। म जस्तै किशोरावस्थाका ठिटाहरूको एउटा झुन्ड थियो। सप्ताहको अन्तिम दिनहरूमा हामी प्रिमियर लिग हेर्थ्यौँ।

म माइकल ओवेनको युगको मान्छे। फुटबलप्रतिको मेरो लगावमा उनकाे निकै ठूलो हात छ वा खुट्टा छ त्यो थाहा भएन। सम्झी ल्याउँदा सन् २००० बाट २००५ सम्मलाई ओवेनको स्वर्ण युग भन्न मिल्छ। सन् २००१ मा लिभरपुललाई ३ वटा उपाधिहरू जिताउन उनकै गोलहरूले प्रमुख भूमिका खेलेका थिए भन्दा गल्ती हुँदैन। रबी फौलर, एमिल हेस्की, जनआर्ने रिसे र स्टिबिन जेराड्को संगलग्नताले निकै दह्रो टीम मानिन्थ्यो लिभरपुल। त्यही समय देखी नै होला लिभरपुलको फ्यान बन्न पुगेछु।

प्रत्येक फुटबल ऋतुमा लिभरपुलले केही न केही उपाधि जितेकै हुन्थ्यो। यसै क्रममा इस्तानबुल तुर्कियेमा एउटा यादगार उपाधि हात पारेको थ्यो ‘दि रेड्स्’ले। सन् २००५ च्याम्पियन्स लिगकाे अन्तिम चरण (फिनाले) गेममा चमत्कारै भाथ्यो। लिभरपुलका कुनै समर्थकले यो इतिहास चाहेर पनि भुल्न सक्ने छैनन्। ठ्याक्कै २० वर्ष बितिसकेछ।

तर  ‘तिमी एक्लो छैनौ’! भन्ने स्लोगन इस्तानबुलको रंगशालामा अझै चर्किन्छ होला।

एसी मिलानले लिभरपुललाई पहिलो हाफमै ३-० ले लिड गरिरहेको अवस्था थियाे। लिभरपुलका धेरै समर्थकहरू आक्रोश देखिन्थे। खेल पुरै नहेरी कति दर्शकहरू निराशाका साथ टीभी बन्द गरेर सुतिदिए। हारलाई स्वीकार गरिसकेका थिए।

दोस्रो हाफ जब शुरु भो, लिभरपुल ‘अब हार्नका लागि केही पनि बाँकी छैन’ जस्तै मन बनाएर मैदानमा उत्रियो।
बिन्दास र निडर भएर खेल्यो।

अनुहारहरूमा दबावको कुनै झलक थिएन।

दोस्रो हाफ सुरु भएको १० मिनेटमै क्याप्टेन जेराड्ले लिभरपुलका लागी पहिलो गोल फर्काए। जेराड् आफ्ना दुवै हात हल्लाउँदै, कहिले चिच्याउँदै घरीघरी दर्शकहरूको नजिक जान्थे। खेलाडीहरूको हौसला बढाउन समर्थकहरूलाई प्रेरित गरिरहन्थे।

उनी सायद समर्थकहरूलाई याद दिलाइरहेका थिए- ‘चलचित्र अझै बाँकी छ!’

त्यसरी नै ५५ देखि ६० बीच जम्मf ५ मिनेटको अवधि भित्रै ३ गोल फर्कायो क्यापटेन जेराड्को टोलीले। र गेमलाई पुनः आफ्नो हातमा ल्याउन सफल भयो। बदलिएको मानसिकताले परिणाम पनि बदलियो।

त्यसपछि मिलानले पनि लगातार आक्रमण गर्यो।

बल र बुद्धि दुवै प्रयोग गरेर ९० मिनेटसम्म स्कोरलाई ३-३ मै रोक्न सफल भए लिभरपुलका डिफेन्डरहरू। ९० मिनेटको अवधिभित्र कुनै नतिजा नआउँदा खेल पेनाल्टी शुटआउटसम्म पुग्यो।

अन्त्यमा जार्जी ढुडेकको अप्रत्याशित चातुर्यताले लिभरपुललाई बचायो। र सन् २००५ च्याम्पियन्स लिगको उपाधि जिताएरै छाड्यो।

यो थियाे लिभरपुलले च्याम्पियन्स् लिग उपाधि जितेको एउटा सुनौलो इतिहास। तर प्रिमियर लिगको उपाधि कहिल्यै जित्न सकेन।

जतिबेला म सबमा खास समर्थक थिएँ, त्यो बाँझो खेतमा कहिल्यै यो उपाधि फल्न सकेन। मनमा त्यसको अभाव खट्की रहन्थ्यो। कोभिडको महामारीमा करिब ३०-३५ सालको बाँझोपनपछि त्यो उपाधि  हासिल त गर्यो, तर मज्जा आएन। रुनु कि हाँस्नु जस्तो समय थियो। उत्सव मनाई रहने कुरै आएन।

आज यो लामो प्रतिक्षा समाप्त भएको छ। लिभरपुल प्रिमियर लिगको विजेता बनेको छ। गत बुधवार टेबलको दोस्रो स्थानमा रहेको गान्नर्स् र स्परबीचको खेल २-२ मा बराबर भएको थियो। त्यसैले लिभरपुललाई आजको गेमबाट जम्मf एक अङ्क मात्र लिनुथियो। त्यो अङ्क आजको जितले भर्पाइ गरिदिएको छ।

पहिले जस्तो लिभरपुललाई पछ्याउन छोडिदिएको छु म आजकल। त्यैपनि धेरै हर्षोल्लास छ छातीमा। जस्तै कुनै पुरानी प्रेमिकाकाे शुभ समाचार अचानक सुन्न पाउँदा त्याे प्रेमी हर्षित हुन्छ।

जब कुनै चिजमा आशक्त रहँदैन त्यो चिज आफैं पोल्टोमा पर्छ कहिलेकाहीँ। नभन्दै त्यस्तै भएको छ आज। कुनैबेला मरिहत्ते गर्दापनि प्राप्त हुन नसकेको त्यो उपाधि आज नमागी हासिल भएको छ। अन्तत: लिभरपुलले आफ्नो लक्ष्य प्राप्त गरेको छ।

‘लम्बी जुदाई’

आज मिलनमा परिणत भएको छ। ‘उपरवालेके घरमें देर है अन्धेर नहिँ’ यो हिन्दी उक्तिले आज न्याय पाएको छ।

‘जाने कितने दिनौँके वाद गलीमेँ आज चाँद’ साँच्चै निक्लेको छ।

समयले निकै छिटो काँचुली फेरिसकेछ। हिजोआज जिम्मेवारीहरू काँधमा चढेर फुटबल खेल्छन्। ओवेन र बेक्खमहरू धमिला याद बनिसकेका छन्। त्यो परिवेश, किशोरावस्था र युगको वापसी अब सम्भव छैन।

प्राथमिकताहरू बदलिँदै गए। समयले नयाँ मागहरू राख्दै गयो।

मागहरूको परिपूर्ति गर्ने क्रममा फुटबल गेमहरू कता छोडिए कता? जिम्मेवारीहरूले मान्छेलाई समय भन्दा चाँडो परिपक्व बनाइदिन्छ। दायित्वहरूको भार बोक्नै पर्ने हुन्छ। तर कहिलेकाहीँ आफ्ना रहर हरूका लागि पनि बाँच्नुपर्दो रहेछ।

लिभरपुलको सामीप्यता दर्शाउने त्यो स्लोगन सारै मनपर्थ्यो। एक्लोपनमा साथ दिने स्लोगन, हौसला नहार्न प्रेरित गरिरहने स्लोगन, जीवनको यात्रा साथ दिने जस्तो स्लोगन र हमेशा हिँडिरहन उक्साउने स्लोगन!

You’ll never walk alone! अर्थात ‘तिमी एक्लो छैनौ!’

बधाई छ लिभरपुल र उसका सम्पुर्ण समर्थकहरूलाई। यो जितले वर्षौं पुरानो आकाङ्क्षालाई सधैंका लागी तृप्त पारिदिएको छ।

अर्को पट्टिबाट सोच्दा। बेलायत वा युरोपमा रहेका छन् प्रायजसो हामीले फलो गर्ने फुटबल क्लबहरू। फुटबल खेल्नु वा प्रदर्शन गर्नु उनीहरूको पेशा हो।

क्लबको लागि अनि आफूको लागी खेलाडी दिनरात प्रशिक्षणमा खटिन्छन। उनीहरू आफ्नो प्यासनलाई पछ्याउँछन् त्यहीँ प्यासन नै उनीहरूको आयश्रोत पनि हो। नाम कमाएका छन् र दाम पनि। उनीहरूको जीवन चम्किलाे छ। उनीहरूलाई त हामी चिन्दछौँ। के उनीहरूले हामीलाई चिन्न सम्भव छ? हामी हुनु या नहुनुले उनीहरूलाई केही फरक पर्ला?

रत्तिभर पर्दैन।

कट्टर समर्थकहरूको मर्मस्पर्शी भावनालाई कुनैपनि  ख्यातिप्राप्त खेलाडीले प्रत्यक्षरुपमा महसुस गर्न सक्छ? एउटा गेम जित्नु वा हार्नु खेलाडीहरूकै प्रदर्शनमा भर पर्छ। समर्थकहरूले स्वयम् खेल्दैनन्।

पछाडिबाट ताली बजाउनमा मात्र सिमित छ एउटा दर्शक। कसैले खेलेको गेममा निर्भर छ एउटा दर्शकको खुशी। दर्शक धेरै थोकले सिमित छ। कसैको नाकले श्वास फेर्न बाध्य छ दर्शक।

यत्ति बुझ्दाबुझ्दै पनि जुवा र सट्टेबाजी खेल्ने दर्शकको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ। यसकाे लतले मानसिक स्थिरता भङ्ग हुनु त स्वभाविक नै भइहाल्यो। अझै स्वास्थ्य, सम्पत्ति र पारिवारिक सम्बन्धनहरूका लागि हानिकारक त छँदैछ। सबैलाई थाहा भएकै कुरो हो। जुन खेलको लगाम हाम्रो हातमै छैन। तर त्यसकाे परिणामले हामी प्रभावित हुने गर्छौँ।

नाम र दाम कमाउँछन् उनीहरू। तर टाउको फ्यान्सको बढी दुख्ने गर्छ। समय दर्शक हरूको पनि अमुल्य हुन्छ। तर कसैले खेलेको गेम हेर्नमा व्यतित भएको पत्तै पाउँदैनन्। यस्ता यावत तथ्यहरू तेर्सिन्छन यहाँ। कोषाैँ टाढा रहेका खेलाडीहरूले हाम्रो ताली र गाली सुन्ने हैनन् क्यारे।

हाम्रो हाँसो वा आँसु देख्ने पनि हैनन्। खेलहरूमा ठिकठाकको रुचि उचित छ पनि होला। तर कुनै क्लब, टिम, खेल अथवा खेलाडीको वफादार फलोवर बन्नुमा त्यो फलोवरलाई  प्रत्यक्ष रुपमा हासिल केनै हुन्छ र?

त्यसैले युवा मनहरूमा अनुरोध छ।

दिनरात त्यो एउटा टीम, त्यो एउटा खेलाडी र त्यो एउटा गेमको नतिजाहरूमा भुल्येर आफ्नो मस्तिष्कमा हावी हुन नदिएकै जाती। खेलकुदलाई प्रोत्साहनका लागी र मनोरञ्जनका लागी हेर्नु ठिकै छ। तर सिमा तय हुनुपर्यो। त्यसकाे सट्टामा कुनै नयाँ इलम वा नयाँनौला कुराहरूमा समय व्यतित गरे बरु धेरै उपयोगी हुनेछ। यसो भनिरहँदा कसैको स्वतन्त्रतामा हस्तक्षेप गरेको चैँ हैन। फुटबल लगायत अन्य धेरै गेमहरूका प्रतक्ष्य प्रसारण दैनिक टिभीमा हेर्न पाइन्छ। त्यसैमा दिनरात मक्ख भएर आफ्नो ध्यान र समयलाई व्यतित गर्नु के बुद्धिमानी हो? 

फुटबल खेल्नु स्वास्थ्यका लागि लाभदायक छ। तर कसैले खेलेकोलाई मात्र हेर्नु वा सट्टेबाजी गर्नु हानिकारक हुन्छ। कुनै सिर्जनात्मक कामका लागि समयलाई खर्च गरेर लाभान्वित बन्नु छ हामी। त्यसैले खेल होस या कुनैपनि मनोरञ्जक विषय- चाहिए भन्दा बढी अमल नगरौँ। यो जनचेतना हैन। ज्ञानवर्धक छ र अमल गर्नैपर्छ भन्ने उदेश्य पनि हैन। नितान्त मेरो बुझाई र निजी अनुभव हो।

प्रकाशित मिति: : 2025-04-30 20:27:00

प्रतिकृया दिनुहोस्