प्रचण्डका घरबेटीलाई कारवाही नगर्ने सरकारलाई प्रश्न– कर केका लागि? (भिडियाेसहित)

शनि शाक्य

ललितपुर

ललितपुरको सुनाकोठी- चापागाउँ सडक बनाउन कुनै प्रयास नगरेको भन्दै स्थानीय दाेस्राे दिनपनि आन्दोलनमा उत्रिएका छन्।

आइतबार सडक अवरुद्ध पारेकाे सुनाकोठीका स्थानीयले आज पनि त्यसैलाई निरन्तरता दिएका हुन्। सांकेतिक विरोधस्वरुप बाजा बजाएर उनीहरुले बिहानैदेखि सडक अवरुद्ध गरेका छन्।

चापागाउँ, सुनाकोठी, ठेचोका बासिन्दाले घाम लाग्दा धुलो र पानी पर्दा हिलोले आजित बनेपछि स्थानीयहरुले आन्दाेलनमा उत्रिएका हुन्। 

सुनाकोठी, ठेचो, चापागाउँ सडक खण्ड सडक विस्तारको गर्ने भन्दै भत्काइएको थियो। तर ठेकेदारले सडक पिच नगरि अलपत्र छाडेपछि धुलोले त्यहाँका स्थानीयको जनजीवन प्रभावित बनेको छ।

स्थानीयले चार महिनाअघि पनि सडक कालोपत्रेको माग गर्दै आन्दोलन गरेका थिए।

त्यसबेला तत्कालै सडक कालोपत्र गर्ने सहमति भएपनि कामले तिब्रता लिन नसकेपछि पुन: आन्दोलनमा उत्रिनुपरेकाे स्थानियहरुले बताएका छन्।

बाटो बनाउन ६ वर्ष अघि नै शैलुङ कन्स्ट्रक्सनका मालिक सारदाप्रसाद अधिकारीले जिम्मा लिएका थिए। उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन्।

शैलुङ कन्स्ट्रक्सनले २०७१ सालमा नै ललितपुरको सातदोबाटोदेखि चापागाउँको टाहाखेलसम्मको सडक निर्माणको ठेक्का पाएकाे थियाे। सातदोबाटोबाट चापागाउँसम्म दायाँबायाँ ११-११ मिटर गरी फराकिलो बनाउने याेजना थियाे।

सम्झौताअनुसार निर्माण व्यवसायीले काम गरेको भए पुस ०७५ भित्रै सकिन्थ्यो । तर ठेकेदारले पटकपटक वचन दिए पनि काम नगर्दा समस्या भएको हो।

क्लबका अध्यक्ष निरोज महर्जनले भने, ‘हामीले पटकपटक सडक बनाउन माग गर्दै आन्दोलन गरेका गरिरहेका छाैं। आन्दाेलन गर्दा सहमति पनि हुन्छ। तर, काम अगाडि नढ्दा बाध्य भएर सडक अवरुद्ध गरेका हाैं।’

वडाध्यक्ष र प्रदेश सभा सांसद सम्मिलित बैठकले दबाव दिएपछि शैलुङ कम्पनीले असोज १ गतेदेखि बाटो कालोपत्रे सुरू गर्ने वचन दिएको थियो तर त्यो पुरा भएन्। 

‘ठेकेदारले दसैंसम्ममा बाटो पिच गरेर आवागमन सहज पारिदिने बचन दिएका थिए। दसैं सकियो। तर बाटो बनाउने सुरसारै भएन त्यसैले स्थानीय आन्दोलनमा उत्रिएको हौं,’ उनले भने।

ठेकेदारले बेलैमा काम नसक्दा यो क्षेत्रमा वातावरण नै प्रदूषित हुने गरी धुलो भएको, सडक राम्रो नहुँदा सर्वसाधारणले सास्ती पाएको अध्यक्ष महर्जनले बताए।

सडक फराकिलो बनाउने भन्दै कतिपय स्थानमा घर र अन्य संरचना भत्काइएको छ। तर मुआब्जा विवादका कारण सडक निर्माण सम्पन्न हुन सकेको थिएन। मुआब्जा पनि नदिने र भत्किएको सडक पनि नबनाएर आफ्नो स्वास्थ्यसँग खेलवाड गरेको भन्दै स्थानीयहरु अहिले सडकमा उत्रेका हुन्।

प्रकाशित मिति: : 2020-11-02 14:59:00

प्रतिकृया दिनुहोस्