मास्क र सेनिटाइजर लगाउँदै शतबीज छरियाे (भिडियो/तस्वीर)

शनि शाक्य

काठमाडाै‌ं

बालाचतुर्दशीका दिन आइतबार बिहानै काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयमा दिवंगत पितृको सम्झनामा शतबीज छरिएकाे छ।

मार्गकृष्ण पक्षको चतुर्दशी अर्थात बालाचतुर्दशीको बिहान परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छरिएकाे हाे।

बालाचतुर्दशीमा पाशुपत क्षेत्रको १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छरिन्छ।

गएराति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन गरी रात बिताएपछि आज बिहानै शतविज छरेर दिवगंत आत्माको मुक्तिको कामना गरिएकाे थियाे।

धर्मग्रन्थका अनुसार शतबीजमा सय गेडा धान चढाउने भनिएपनि हिजोआज धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सप्तबीज छर्ने गरिन्छ।

तर, कोरोनाका कारण यसवर्ष पशुपति क्षेत्रमा मेला नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

यसपटक सर्वसाधारण तीर्थयात्रीको सुविधाका लागि ठाउँठाउँमा हात धुने पानी, साबुन, सेनिटाइजर र मास्क नलगाएकालाई निःशुल्क मास्क प्रदान गरिएको पशुपति विकाश काेषले जनाएकाे छ। 

प्रकाशित मिति: : 2020-12-13 16:56:00

प्रतिकृया दिनुहोस्